काठमाडौं, २६ वैशाख । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुनु स्वागतयोग्य कदम भएको टिप्पणी गरेका छन् ।
‘विगतमा बारले नयाँ प्रधानन्यायाधीश नियुक्तिका निम्ति दबाबमुलक अभियान चलायो । कम्तीमा संवैधानिक परिषदको बैठकबाट प्रधानन्यायाधीश सिफारिस भएको छ । यो स्वागतयोग्य कदम हो । तर संसदीय सुनुवाइ समिति बनेको छैन । त्यो पनि उहाँहरुले सहमतिमै बनाउनु होला भन्ने विश्वास छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
बार अध्यक्ष घिमिरेले न्यायिक नेतृत्व पाएपछि मर्यादित न्यायपालिकाको मुद्दा अगाडि बढाउने पनि बताए । उनले भने, ‘नेपाल बारको अभियान स्थगन भएको छैन । आन्दोलन सधैं गर्ने भन्ने होइन, आवश्यकता अनुसार गर्ने हो । पहिले प्रधानन्यायाधीशलाई काम गर्न दिऊँ ।’
प्रधानन्यायाधीश सिफारिस भएका हरिकृष्ण कार्कीले आफ्नै अध्यक्षतामा गठित समितिको मर्यादित न्यायपालिकासम्बन्धी प्रतिवेदनलाई फुलकोर्टबाट स्वामित्व ग्रहण गराउनुपर्ने उनले बताए । घिमिरेले थपे, ‘उहाँसँग समय छोटो छ । तर न्यायप्रेमी जनताले सम्झने महत्त्वपूर्ण काम गर्नुस् भनेर सम्झाउँछौं । उहाँकै अध्यक्षतामा बनेको समितिले बनाएको प्रतिवेदन लागू गर्नु आजको चुनौती हो । उहाँले प्रारम्भिक काम सुरु गरिदिनुभयो भने आउने न्यायिक नेतृत्वलाई पनि हामी घचघच्याउने छौं ।’
घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल नागरिकता विधेयक प्रमाणीकरणबारे सरोकारवालासँग छलफलमै रहेको पनि बताए । उनले भने, ‘उहाँ नागरिकता विधेयक प्रमाणीकरणबारे सरोकारवालासँग छलफलमै हुनुहुन्छ । हामीसँग उहाँले त्यो विधयक जिउँदै छ वा मर्यो ? विधेयक कुन अवस्था छ ? प्रमाणीकरण गर्नुपर्ने वा गर्नुनपर्ने संवैधानिक आधार के छ ? भनेर सोध्नुभयो । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार उचित समाधान माग्नुभयो ।’
नेपाल बारको अठचालिसौं कार्यकारिणी बैठकले आफूलाई प्रमाणीकरणको पक्षमा उभ्याइसकेकाले अहिले अन्य कुरा गर्न नमिल्ने पनि घिमिरेले बताए । उनले भने, ‘हामीले यो कुरा प्रधानमन्त्री र सभामुखलाई पनि जानकारी गराइसकेका छौं । अब योभन्दा फरक कुरा गर्न मिल्दैन ।’