दमक, वैशाख २७ । कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएका छन् ।
प्रहरी र प्रर्दशनकारीबीच करिब डेढ घण्टा भएको झडपमा १० प्रहरी घाइते भएका छन् । करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको बताइन्छ ।
आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ । गोली चलेजस्तो आवाज सुनेपछि दमक बजार क्षेत्र साँझमा नै बन्द भएको थियो ।
भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा दुइजना आन्दोलनकारी गम्भिर घाइते भएका छन् । गोलीको छर्रा लागेर घाइते भएका दुबैजनाको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको छ । एक जनाको खुट्टामा र अर्को जनाको हातमा चोट रहेको छ ।
यसै गरी घाइते प्रहरीहरूको सरकारी दमक अस्पताल, लाइफलाइन अस्पताल लगायतका स्थानीय अस्पतालहरूमा उपचार भएको छ । घटनापछि दमकको सुरक्षा व्यवस्था कडा पारिएको छ ।