काठमाडौं, वैशाख २७ । प्राइम लाइफ,गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जर पश्चात हिमालयन लाइफ इस्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु भएको छ । तीन कम्पनीको मर्जर पछि बनेको नयाँ कम्पनीले मंगलबारदेखि एकीकृत कारोबार थालेको हो ।
तीन कम्पनीले १ः१ः१ को अनुपातमा मर्ज भएका हुन् । मर्जर पश्चात बनेको हिमालयन लाइफ इन्स्योरेसको चुक्ता पूँजी ७ अर्ब ७२ करोड ३१ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजीको आधारमा हिमालयन लाइफले नेपाल लाइफ पछिको दोस्रो ठूलो जीवन बीमा कम्पनी बनेको छ ।
एकिकृत कारोबारका लागि यी तीन कम्पनीलाई नेपाल बीमा प्राधिकरणले बैशाख १३ गते, नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २० गते अन्तिम स्वीकृत प्रदान गरेको थियो ।