Logo

शरणार्थी प्रकरणमा गगनलाई साथ दिँदै शेखर, उनकै बोली दोह्याउँदै भने ‘खाँणलाई निलम्बन गर्नुपर्छ’



काठमाडौं, ३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका संस्थापनइतर पक्ष एक हुन लागेका छन्।

सो प्रकरणमा पक्राउ परेका सभापति शेरबहादुर देउवानिकट मानिएका पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण पक्राउ परेपछि संस्थापनइतर समूहका नेताहरु खाँणमाथि आरोप लागिसकेको र उनीमाथि लागेको आरोप छानबिन पूरा नहुँदासम्म पार्टीले निलम्बित गर्नुपर्ने बताइराखेका छन्।

सोहीक्रममा संस्थापनइतर समूहका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँगै उपसभापति धनराज गुरुङ्ग निलम्बन गर्नुपर्ने बताइरहेका बेला संस्थापनइतर समूहका शीर्ष नेता शेखर कोइराला पनि खाँणलाई निलम्बन नै गर्नुपर्ने समूहमा थपिएका छन्।

महामन्त्री थापाले यसअघि र मंगलबारपनि पार्टीले खाँणलाई निलम्बन गर्नुपर्ने माग राख्दै आएका थिए। सोही क्रममका थापाले बिहीबारमात्रै पनि काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सोही कुरा दोहर्याएका थिए।

उक्त कार्यक्रममा बोल्दै नेता कोइरालाले पनि दोषीलाई कारबाही हुनैपर्ने बताउँदै सो प्रकरणमा खाँणमाथि पनि आरोप लागेपछि उनलाई पार्टीले निलम्बन गरेर जानुपर्ने महामन्त्री थापाकै भाषा दोहर्याए।

‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ? भन्ने अहिले म भन्न सक्दिनँ। कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ। यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो। नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आइरहेको छैन भन्ने पनि बुझौं,’ कोइरालाले भने।

कोइरालाले यो मुद्दालाई कमजोर बनाउनका लागि अरु मुद्दाहरू ल्याइएला भन्ने चिन्ता लागेको बताउँदै भने, ‘त्यतातिर पनि ध्यान जान जरुरी छ। यो मुद्दाले नेपालको सार्वभौमिकतामाथि नै प्रहार भइरहेको छ। देशको नागरिकलाई अनागरिक बनाएर मानव बेचबिखन गर्नेभन्दा लज्जास्पद केही हुन सक्दैन।’



प्रतिक्रिया दिनुहोस्