काठमाडौं, ११ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सानु भण्डारी र केशवप्रसाद दुलाललाई भुटानी शरणार्थीका नाममा डुप्लिकेट त गरेका छैनौं भनि सोधेको बताएका छन् ।
अधिकारप्रप्त अधिकारीसँग रायमाझीले दिएको बयानमा काम विशेषले गृहमन्त्रालय पुग्दा इन्द्रजीत राईको कार्यकक्षमा सानु भण्डारी, केशवप्रसाद दुलाल र इन्द्रजीत राईबीच आर्थिक लेनदेनमा विवाद भइरहेको सुनेपछि आफूले उक्त प्रश्न गरेको बताएका हुन् ।
काम विशेषले गृह मन्त्रालय गएको बखत स्वकिय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजीत राईको कार्यकक्षमा छलफल हुँदा ठुलो स्वरमा आवाज आएको हुँदा म पनि निजको कार्य कक्षमा छिरे, त्यहाँ जाँदा ईन्द्रजीत राई, सानु भण्डारी र केशव प्रसाद दुलाल बीच लेनदेन सम्बन्धि बिबाद भएको सुनेको हुँ ।’ उनको बयानमा भनिएको छ, ‘कार्यकक्षबाट बाहिर आएपछी सानु भण्डारी र केशव प्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौ ? भनी सोध्दा निजहरुले हामी पूर्वका मानिस हौ, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रतिप्रश्न गरेका थिए ।’