काठमाडौं, १४ जेठ । नेपाल भ्यालुयर्स एसोसिएसनको आयोजनामा फिक्स्ड एसेट भेलुएसन ट्रेनिङ सम्पन्न भएको छ । काठमाडौंको युनियन हाउसमा जेठ १२ गतेदेखि १४ गतेसम्म ३ दिन सञ्चालन भएको तालिममा देशभर आफ्नो कार्यक्षेत्र बनाई काम गरेका २४ जना मूल्याङ्कनकर्ताहरु सहभागी भएका थिए ।
नेपालमा मूल्याङ्कन क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजाने योजना बमोजिम तालिम आयोजना तथा क्षमता विस्तारलाई नेपाल भ्यालुयर्स एसोसिएसनले पछिल्लो समय विशेष चासोको साथ सञ्चालन गर्दै आइरहेको छ ।
यस पटक आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा वरिष्ठ प्रशिक्षक देवेन्द्र कुमार श्रेष्ठ, प्रशिक्षद्वय दिनेश कुमार पाठक र शुशिल अमात्यबाट सञ्चालन गरिएको थियो । साथै, अधिवक्ता नारायण कोइराला र नापी विशेषज्ञ टंक दाहाललेसमेत प्रशिक्षण दिएका थिए ।
व्यावसायिक एकरुपता र स्पष्ट व्यवस्था सहित कसरी विभिन्न प्रोजेक्टहरुको मूल्यांकन गर्ने भन्ने बारे विगतमा सञ्चालन गरिएका तालिमहरु निकै नै प्रभावकारी रहेको र त्यसलाई अझ विस्तार गर्दै लैजाने योजना बमोजिम यो तालिम सञ्चालन गरिएको संघका कार्यवहाक अध्यक्ष लक्ष्मणबाबु सेढाईँले बताए ।
प्रशिक्षक देवेन्द्र श्रेष्ठले आफूहरुले प्रशिक्षार्थीहरु सफल भएको हेर्न चाहेको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सकेको खण्डमा मात्रै सफलता प्राप्त हुने उनको भनाई छ ।
साथै मूल्याङ्कनको निम्ति प्रचलित विधिहरुलाई सहज तवरले अपनाउन सकिने बताउँदै कुनै अस्पष्टता भए आफू जुनसुकै बेला पनि सहयोग गर्न तत्पर रहेकोसमेत उनले बताए । कार्यक्रमको सहजीकरण नेपाल भ्यालुयर्स एसोसियसनका माहासचिव ई दिनश कुमार पाठकले गरेका थिए ।