Logo

माधव नेपालले किन गरे नेकपा व्युँताउने प्रस्ताव ?



काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कोहीसँग पनि नगाभिने बताउँदै आएका छन् । उनले आफ्नो दल नेपालको कम्युनिष्ट आन्दोलनको विरासत बोकेर आएको भन्दै वैकिल्प शक्ति बनेर उदाउने दाबी गर्दै आएका छन् । तर, अध्यक्ष नेपालले पछिल्लो समय नेकपा व्यँुताउने प्रस्ताव पनि गरिरहेका छन् ।

उनले सार्वजनिक रूपमै नेकपा व्युँताउनको लागि आफू तयार भएको भन्दै यसको लागि एमाले अध्यक्ष केपी शर्मा ओली तयार हो ? भन्दै प्रश्न गर्ने गरेका छन् । उनले ओली तयार हो भने आफूले प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्ने बताएका छन् । अध्यक्ष नेपालले नेकपा व्युँताउने प्रस्ताव गरेपछि एमाले र माओवादीभित्र पनि यो बहस छेडिएको छ ।

नेपालले अहिलेको सरकारले ल्याएको बजेट विभेदकारी रहेको भन्दै बजेट नसच्याईए यथास्थितिमा पास हुन नदिने चेतावनी दिएका छन् । उनको दल यतिवेला सरकारमै सामेल छ । नेकपा (एस) बाट वेदुराम भुषाल र प्रकाश ज्वाला सरकारमा शक्तिशाली मन्त्रालयको नेतृत्व लिएर बसेका छन् । ज्वाला भौतिक पूर्वाधार र भुषाल कृषि मन्त्रालयको नेतृत्वमा छन् ।

तर, आफ्नै पार्टी पनि सरकारमा रहेको बेलामा अध्यक्ष नेपालले भने बजेट विभेदकारी रहेको भन्दै बजेट नसच्याईए पास हुन नदिने चेतावनी दिएका छन् । यसलाई लिएर संसद्मै बहसको विषय बनेको छ । कतिपयले भने माधव नेपालको नेकपा व्युँताउने प्रस्ताव र बजेट पास हुन नदिने चेतावनी अहिलेकै आउनुको पछि केही रहस्य रहेको चर्चा गर्न थालेका छन् ।

राष्ट्रपतिको निर्वाचनअघि एमाले अध्यक्ष ओलीले माधव नेपालसँग लामो छलफल गरेका थिए । पछिल्लो समय एमाले र नेकपा (एस) का नेता तथा कार्यकर्ताहरुले नेतृत्वलाई एकताको लागि दबाब दिन थालेका छन् । सरकारमा सहभागी आफ्ना मन्त्रीद्धयको कामलाई लिएर शक्ति राष्ट्रबाट चेतावनीयुक्त सन्देश प्राप्त भएपछि अध्यक्ष नेपाल रुष्ट बनेको र नेकपा व्युँताउने कुरा गरेको पनि स्रोतको दाबी छ ।

पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको कामलाई लिएर अध्यक्ष नेपालसँग चासो लिईएपछि नेपाल आक्रोशित बनेको बुझिएको छ । यो बीचमा उनले भौतिक पूर्वाधारमन्त्री ज्वालासँग छलफलसमेत गरेका छन् । उनले देश र जनताको हितको लागि कसैसँग सम्झौता नगरी काम गर्नसमेत मन्त्री ज्वालालाई निर्देशनसमेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्