Logo

सांसद बिष्ट बने विद्यालयमैत्री



काठमाडौं, ३० जेठ । वाग्मती प्रदेश सभाका सदस्य राजु विष्टले आफ्नो तलबभत्ताबाट एक विद्यालयलाई शिक्षकको व्यवस्था गरेका छन् । यसै प्रदेशका मन्त्रीसमेत रहिसकेका विष्टले काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ ढोक्सानस्थित श्री शिलादेवी आधारभूत विद्यालयमा एकजना शिक्षिकालाई प्रत्येक महिनाको आफ्नो पारिश्रमिकबाट तलब दिने घोषणा गरेका हुन् ।

वैशाख १ गतेबाट यो निर्णय गरेका उनले जेष्ठ १ गते पहिलो महिनाको तलबसमेत हस्तान्तरण गरिसकेका छन् । ‘म निर्वाचनको बेला मत माग्न घरदैलो कार्यक्रममा जाँदा त्यस विद्यालयमा शिक्षकको संख्या कम भएको जानकारी पाएको थिएँ’ उनले भने, ‘त्यही बेला जितेर सांसद भए भने मेरो तलबबाटै एउटा शिक्षक राखिदिन्छु भनेको थिएँ । अहिले सोही वाचा पूरा गर्दै आफ्नै खर्चमा शिक्षकलाई तलब दिने व्यवस्था गरेको हुँ ।’

प्रदेशसभा निर्वाचनकालमा आफूले गरेको प्रतिबद्धता पूरा गर्न आफ्नै तलबबाट भए पनि शिक्षक व्यवस्था गरेर आफ्नो कार्यकालभरि तलब उपलब्ध गराउने निर्णय लिएको उनले बताए । बिष्ट गत मंसिरमा सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्ला क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बागमती प्रदेश सभा सदस्यमा आफ्ना प्रतिद्वन्द्वी सुवर्ण श्रेष्ठभन्दा तीन हजारभन्दा बढी फराकिलो मतान्तरका साथ निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्