Logo

राज्यविरुद्धको अपराध हो कि होइन अदालत भन्ने हो : बार अध्यक्ष घिमिरे



काठमाडौं, ३१ जेठ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको पछाडि वकिलहरुको लावालस्कर लागेको भनी गरिएको प्रचारबाजी गलत भएको टिप्पणी गरेका छन् ।
‘हरेक प्रतिवादीलाई आफ्नो वकिल राख्न पाउने अधिकार छ । यो संविधान अन्तर्गत भएको अधिकार हो । प्रतिवादीको पक्षमा वकालत गर्नु वकिलको धर्म नै हो । वकिलको । त्यसैले यसलाई लावालस्कर भनेर बदनाम गर्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
बार अध्यक्ष घिमिरेले कुनै पनि व्यक्तिलाई आराप लाग्नासाथ सडकबाटै फैसला गर्न नमिल्ने बताए । उनले थपे, ‘हाम्रो देशमा फाँसीको कानुन छैन । तर त्यस्तो कानुन भएको देशमा पनि हरेक अभियुक्तलाई आफ्नो कानुन व्यवसायी राख्न पाउँछन् । लोकतन्त्रमा व्यक्तिको अधिकारलाई महत्त्व दिइएको हुन्छ । जसले वकिल राख्न सक्दैनन्, तिनलाई राज्यले आफैं वकिल राखिदिन्छ । नेपाल बारले पनि वकिल राख्ने व्यवस्था गर्छ । यहाँ किन यस्तो नकारात्मक चर्चा भइरहेको छ ? मैले बुझेको छैन । राज्यविरुद्धको अपराध हो कि होइन, सडकले भन्ने होइन, अदालत पो भन्ने हो ।’
वरिष्ठ कानुन व्यवसायी समेतले भ्रष्टाचारीको पैसा लिएर बचाउन लागेको भनिरहेकामा पनि उनले आक्रोश पोखे । घिमिरेले भने, ‘बालकृष्ण खाँडको परिवारले कुनै कानुन व्यवसायीलाई अनुरोध गरेको होला । त्यो फी लिएर गरिएको होला वा नहोला । तर म फौजदारी कानुनको विद्यार्थी हुँ । मैले प्रतिवादीका तर्फबाट वकालत गर्दा के गल्ती गरें ? डाक्टरले रोगीको उपचार गरेजस्तै वकिलले आफ्नो पक्षको बचाउ गर्नु स्वाभाविक हो । हामी यो काम गरिरहन्छौं ।’
तपाईं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई कसरी निर्दोष भन्न सक्नुहुन्छ भन्ने प्रश्नमा घिमिरेले भने, ‘मुद्दा भनेको भोलि जो कसैलाई लाग्न सक्छ नि । अदालतभित्र गरिने बहस मैले पब्लिकमा भन्ने होइन । मैले प्रमाण बनाउने होइन, भएको प्रमाण प्रस्तुत गर्ने हो । त्यसो भए म भुटानी शरणार्थी बन्छु भनेर फर्म भर्नेको दिमाग ठीक छ वा नाबालिग होइन भने उसले यसको सजाय बेहार्ने कि नबेहोर्ने ? अभियुक्तले अदालतमा आफ्नो कुरा राख्नै नपाउने ? कानुन व्यवसायी राख्न दिइएन भने हामी जंगली शासनतर्फ लाग्छौं ।’
अर्को प्रसंगमा उनले नेपाल बारको भ्रष्टाचारविरोधी १०९ दिनको अभियानमा साथ दिएकाले कामु न्यायाधीश हरिकृष्ण कार्कीमाथि आक्रमण भएको आरोप लगाए । घिमिरेले भने, ‘कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नै प्रधानन्यायाधीश हुने पक्कापक्की छ । उहाँ विषयमा धेरै उजुरी परे । तर भ्रष्टाचारको कुनै उजुरी परेन । यो महत्त्वपूर्ण हो । बहालवाला न्यायाधीशको योग्यतामाथि कुरा उठाइएको छ । न्यायाधीशको अनुशासन हुन्छ कि हुँदैन ? छोटो समय भनिएको छ । भारतमा १४ दिनका लागि प्रधानन्यायाधीश भएका छन् । नेपाल बारको १०९ दिने भ्रष्टाचारविरोधी अभियानमा साथ दिएकाले त उहाँमाथि यस्ता आक्रमण भएका होइनन् ?’



प्रतिक्रिया दिनुहोस्