Logo

कठोर कदम चाल्ने ६७ जिल्ला न्यायाधीशको चेतावनी



काठमाडौं, जेठ ३२ । ६७ जिल्लाका न्यायाधीशहरुले उच्चमा अवसर नपाए कठोर कदम चाल्ने चेतावनी दिएका छन् ।

मंगलबार न्याय परिषद्, प्रधानन्यायाधीश र न्यायाधीश समाजका अध्यक्षलाई भेटेरै उनीहरुले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा आफूहरुलाई पछि पारिएको र मूल्यांकन नहुने गरेको भन्दै सामूहिक रुपमा चेतावनीसहित ध्यानाकर्षण गराएका हुन् ।

लामो समयदेखि जिल्ला अदालतमा कार्यरत रहँदा पनि उच्चमा न्यायाधीश नियुक्ति गर्दा आफूहरुले अवसर नपाएको उनीहरुको गुनासो छ ।

आफूहरुको वृत्ति विकास रोक्दै वकिलहरुबाट उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने र राम्रा मान्छेहरुले अवसर नपाउँदा न्यायपालिकामाथि नै प्रश्न उठेको उनीहरुको भनाइ छ । यतिबेला न्याय परिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी गरेको छ ।

जिल्ला न्यायाधीशमा कार्यरत व्यक्तिका हकमा समेत दरखास्त आह्वान गर्ने कार्यबाट समस्त न्यायाधीशहरूको योगदान, भूमिका र उनीहरुले सम्पादन गरेका कार्यको बारेमा न्याय परिषद् अनभिज्ञ रहेको वा सोको अवमूल्यन गर्न खोजेको प्रतित भएको उनीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्