काठमाडौं, जेठ ३२ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको मचाकाटोलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले बुधबार लाइफलाइन होम केयरसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
ललितपुर महानगरपालिका वडा नं. २० स्थित सगरमाथा स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत रहेका थिए । उनले केएमसीले गाउँगाउँ गएर आम सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा प्रशंसा व्यक्त गरे । मन्त्रालय स्वास्थ्य संघसंस्थाहरुसँग जनतालाई सर्वसुलभ सेवा दिन सहकार्य गर्न तत्पर रहेको पनि बताए ।
त्यस्तै, स्वास्थ्य शिविरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन विशिष्ट अथिति रहेका थिए । उनले स्वास्थ्य उपचारमा नगरबासीको सहजताका लागि महानगरले स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
निःशुल्क स्वास्थ्य शिविरमा ५९३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा आएका मध्ये ४२ जनाको इसिजी, ८७ जनाको ल्याब परीक्षण, १०५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये ७ जनाको दाँत खोलिएको तथा २७ जनालाई थप उपचारका लागि ओ।टी। रेफर समेत गरिएको छ ।
केएमसीले विगत ३ वर्षदेखि नियमित रुपमा गाउँशहर सबैतिर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न वर्गका नागरिकले बढी लाभ लिइरहेका छन् । हाल प्रतिनिधि सभा सदस्य समेत रहेका तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्माले केएमसीको सेवालाई गाउँगाउँ पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका थिए ।