काठमाडौं, २ असार । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेशबहादुर शाहीले प्रदेशका जनतामा आशा सञ्चार गर्ने गरी बजेट ल्याएको दाबी गरेका छन् ।
‘प्रदेशको बजेट अर्थमन्त्रीले आफ्ना लागि ल्याउने होइन, प्रदेशको प्रगतिका लागि ल्याउने हो । सुदूरपश्चिम प्रदेशको बजेटमा नयाँ डिपार्चर छ । जनतामा आशा सञ्चार गरेको छ । बजेट वडा, पालिका हुँदै जिल्लाको मागमा आधारित छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग शाहीले भने ।
हिजो प्रदेशसभामा प्रस्तुत भएको नयाँ बजेटले उत्पादन र रोजगारीलाई जोड दिएको शाहीले बताए । मुख्यमन्त्री पर्यटन कार्यक्रम, एक पालिकाः एक नमुना आवासीय विद्यालय, स्टार्टअपका कुरा पनि बजेटमा समेटिएको उनले बताए ।
यसपटक कृषिमा असाध्यै राम्रा कार्यक्रम आएको शाहीको दाबी छ । उनले भने, ‘हामीले स्मार्ट एग्रिकल्चरको अवधारणा ल्याएका छौं । ठूला व्यावसायिक कृषि फार्म, किसानलाई उत्पादन, लगानी र बजारीकरणमा सघाउँछौं । कृषि प्रवद्र्धन कोष स्थापना गरी शून्यप्रतिशत ब्याजमा ऋण दिन्छौं । कृषि बीमाको कार्यक्रम छ । च्याङ्ग्राको व्यावसायिक खुला फार्मको कुरा छ । सुदूरपश्चिमलाई मसला, मासु र फलफूलमा आत्मनिर्भर बनाउने अभियान चलाउँछौं ।’
यथार्थपरक बजेट ल्याएकाले आकार केही घटेको मन्त्री शाहीले बताए । उनले बजेटको कार्यान्वयन हुने ठोकुवा पनि गरे ।