काठमाडौं, २ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काठमाडौंले काठमाडौं महानगरपालिकाले संगठनले उठाएको जायज मागमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जिल्ला समिति अध्यक्ष लक्ष्मण बस्नेतले महानगरले विद्यालय प्रशासन, संचालक, विद्यार्थी संठन र अभिभावकबीच द्वन्द्व बढाउने काम गरेको बताएका हुन् ।
शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि गरिएको आन्दोलन प्रति भ्रम र गलत मनसाय नराख्न अनुरोध गर्दै अनेरास्ववियु (क्रान्तिकारी) ले आफूहरुको माग बेवास्ता गरिए संघर्षमा जाने चेतावनी दिएको छ । साथै, अनेरास्ववियु (क्रान्तिकारी) ले विभिन्न ६ बुँदे संघर्षको कार्यक्रमसमेत घोषणा गरेको छ ।
यस्ता छन् संघर्षका कार्यक्रमहरुः
-सम्पूर्ण नगर तथा महानगरपालिकालाई वैज्ञानिक शुल्क निर्धारण गर्न ध्यानाकर्षण गर्ने ।
-विद्यालयले प्रधान गर्ने छात्रवृत्तिको विवरण शैक्षिक संस्थामा नामावली सहित प्रकाशन गर्न अनुरोध गर्ने अन्यथा सम्बंधित स्कुल, कलेजका गाडीहरु महानगर बाहिर चल्न नदिने ।
-संस्कृति, वृहष्पति र युलेन्स लगायतका विद्यालयहरुलाई जनकारवाही गर्ने ।
-विद्यालयमा संचालित छात्रावासमा विद्याथीहरुको मृत्यु यातना जस्ता अपराधिक क्रियाकलाप र घटना देखिएकाले यसको नियमन र अनुगमनको ब्यबस्था गर्न अनुरोध गर्ने । अन्यथा संगठन आफैले अनुगमन गर्ने ।
-विद्यार्थिहरुको संगठित हुने अधिकारमाथि हमला गर्ने प्रवृत्तिका विरुद्ध पनि प्रतिरोध गर्ने ।
-कालो ब्यानर तथा कालो झण्डा विद्यालयको प्राङ्गणमा राख्ने ।