काठमाडौं, ३ असार । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले संखुवासभाका बाढीपीडितको खोजी, उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । संखुवासभामा अविरल वर्षाका कारण पिलुवा, हेवा, सभा खोलामा आएको भीषण बाढीका कारण कैयौं मानिस बेपत्ता भएका छन् भने खर्बौंको भौतिक संरचनामा क्षति पुर् याएको उनले बताए ।
‘रातको समयमा भएकाले सबै तथ्य आइसकेको छैन । तर अविरल झरीका कारण खाेलाले कैयौं मान्छे, घर र पक्की तथा झोलुंगे पुल बगाएको छ । १५–१६ वटा हाइड्रोपावर बगाएको छ । किसानको खेत पुरिदिएको छ । संखुवासभामा अकल्पनीय मानवीय र भौतिक क्षति भएको छ । विषम परिस्थिति र विपद्को घडीमा खोजी, उद्धार र राहतमा जुट्न सरकार, संसद् र सुरक्षाकर्मी, राजनीतिक दलहरु, नागरिक समाज सबै पक्षलाई म आग्रह गर्दछु, ‘नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
काठमाडौंमा रहेका सांसद खड्काले राति नै प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरे उद्धारमा जुट्न आग्रह गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर जानकारी गराउने बताए । उनले भने, ‘मलाई रातदेखि फोन आइरहेको छ । जनता त्रसित अवस्थामा छन् । रातभरि सुत्नुभएको छैन । संखुवासभाबाट मलाई फोन गरेर कतिपयले खोलामा यस्ता भयंकर आवाज सुनिएकै थिएन भन्नुभएको छ ।’
तीनवटा खोलामा रहेका १८–२० वटा हाइड्रोपावरको क्षति सोच्नै नसकिने खालको भएको पनि खड्काले बताए । उनले थपे, ‘नेसनल ग्रिडमा जोडिएका, उत्पादनको चरणमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजना पूर्ण रुपमा क्षति भएको छ ।’ खड्काले हरसम्भव आजै जिल्ला पुग्ने पनि बताए । गाडीबाट संखुवासभा पुग्न १६–१७ घन्टा लाग्छ ।