ताप्लेजुङ, असार ४ । लगातार परेको पानीसंगै गएराति झरेको पहिरोमा परी बेपत्ता मेहेले मुकुभञ्ज्याङका केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ।
पहिरोले बगाई बेपत्ता भएका केशरबहादुरको उनको घर रहेको स्थान भन्दा करिव ५० मिटर तल मृत भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूले बताए। ‘पहिरोमा पुरिएर खुट्टा मात्र देखिएको अवस्थामा केशरबहादुर मृत भेटिएको दुःखद् खबर आयो’जिल्ला प्रहरी प्रमुख राईले भने।
घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको मृत्यु भएको स्थानीय कमल कडरियाले जानकारी दिए। घाइते अवस्थामै उद्धार गरिएका राजकुमार राईको अवस्था गम्भिर रहेको समेत उनले बताए।
यसअघि शनिवार रातिको पहिरोबाट बेपत्ता मेहेले भालुखोपका भगिमाँया बुढाक्षेत्री,उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ववल बुढाक्षेत्री बेपत्ता नै छन्। पहिरोमा परी बेपत्ता भएका मध्ये मेहेले भालुखोपका गणेश तामाङको शव फेला परिसकेको छ।
कडरियाका अनुसार अहिले पनि मेहेलेका बिभिन्न क्षेत्रमा पहिरो गईरहेको छ। उनका अनुसार मेहेलेको निलगिरी मावि रहेको स्थान पहिरोबाट केहि सुरक्षित रहेको देखेपछि जोखिम प्रभावित क्षेत्र त्यहाँ आउन चाहन्छन्, तर सो स्थान सम्म आउन पनि पहिरो,खोल्सामा बढेको पानी र अबिरलको बर्षा बाधक बनेको उनले जानकारी दिए।