Logo

झलनाथ खनाललाई धमलाको प्रश्न— अब एमाले र कांग्रेसको गठबन्धन बन्यो भने के हुन्छ ?



काठमाडौं, ४ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता टिकाउन मात्र समाजवादी मोर्चा बनेको देखिए दुर्भाग्य हुने बताएका छन् ।
‘अब सत्ता टिकाएर मात्र यो देशको फलिफाप हुनेवाला छैन । मुलुकको सामाजिक आर्थिक रुपान्तरण र आमूल परिवर्तनका लागि समाजवादी मोर्चा चाहिएको हो । यो बृहत् वामपन्थी एकताको पहिलो पाइला हुनुपर्छ । त्यो नगरीकन समाजवादको बाटो हिँड्न सकिँदैन । भैंसी खेदेजस्तो मात्र हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
समाजवादी मोर्चाले अब नेकपा एमालेसँग वार्ता गर्नुपर्ने पनि खनालले औंल्याए । उनले थपे, ‘मोर्चा गठन गर्दा साथीहरुले एमालेसँग एप्रोच गर्नुभयो कि भएन ? वार्ता गर्नुभयो कि भएन ? मलाई थाहा भएन । तर अब मोर्चा बनिसकेपछि एमालेसँग वार्ता गर्नुपर्छ । हामीसँगै समाजवादको साझा यात्रामा लाग्नुपर्छ । त्यो नै हाम्रो मुक्तिमार्ग हुन्छ ।’
साथै खनालले समाजवादको लक्ष्य राखेर नेपाली कांग्रेससँग मोर्चाबन्दी हुनै नसक्ने दाबी गरे । उनले भने, ‘समाजवाद कांग्रेसको लक्ष्य पनि होइन । त्यसैले ऊसँग मोर्चा बनाउनुपर्ने आवश्यकता परेन । उसको लक्ष्य भनेकै यही संसदीय व्यवस्था हो । तर समाजवादमा पुग्छौं भन्नेहरुसँग त ठोस रुपमा नीति र कार्यक्रम र लक्ष्यमा आधारित भएर कार्यगत एकता र मोर्चाबन्दी गर्न सकिन्छ नि ।’
समाजवादी मोर्चाका कारण एमाले र कांग्रेसको गठबन्धन बन्यो भने के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा खनालले भने, ‘समाजवादी मोर्चाको प्रमुख लक्ष्य समाजवादी गणतन्त्र नेपाल निर्माण हो । त्यसमा को को सहमत छन्, तिनीहरुसँग एकता हुन्छ, अरुसँग हुँदैन । तर फराकिलो छाती लिएर हिँड्न नसके त्यस्तो मोर्चा टिक्दैन । मोर्चाको नामपाटी मात्र टाँस्ने मात्र हो कि अरु पनि हो, दुईचार हप्तामै क्लियर भैहाल्छ नि ।’ अब वर्गीय ध्रुवीकरणले नै राजनीतिक ध्रुवीकरणलाई निर्णायक मोड दिने विश्वास पनि उनले व्यक्त गरे ।
नेता खनालले वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मै समेटिएर अघि बढ्नु उचित हुने सुझाव दिए । तपाईं पनि नेकपा एमालेमै फर्किने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘म कोठा चहार्ने, घर चहार्ने, गाउँ चहार्ने मानिस होइन । विचार मिल्ने जोसुकैसँग एकता गर्न मलाई आपत्ति छैन । एमालेसहितको सम्पूर्ण वामशक्तिको एकता आजको आवश्यकता हो । आजको विकल्प वामपन्थी शक्ति नै हो ।’



प्रतिक्रिया दिनुहोस्