काठमाडौं, ५ असार । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले समाजवादी मोर्चा नेपालको धारणामा एकरुपता नभएको टिप्पणी गरेका छन् । आज (मंगलबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेत्रविक्रम चन्द र उपेन्द्र यादवको समाजवादमा पुग्ने बाटो एकै नभएको टिप्पणी गरेका हुन् ।
‘समाजवादी मोर्चा भनेर जो–जो पार्टी बसेर हिजो बनाउनु भएको छ, पहिलो कमेन्ट मेरो के छ भने समाजवादको धारणाप्रति नै उहाँहरुको एकरुपता छ त ? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रविक्रम चन्दले समाजवादमा पुग्ने बाटो एउटै हो ? अहिलेको संविधानप्रति उहाँहरुको दृष्टिकोण समान छ ? संविधान च्यात्ने पनि त उहाँहरु नै हो । हामीले बनाएको संविधान भनेर गर्व गर्ने पनि हुनुहुन्छ,’– उनले भने ।
अहिलेको संविधान र यो व्यवस्थालाई हेर्ने दृष्टिकोण समान नभएकाहरु बीचमा मोर्चा बनेको उनको टिप्पणी छ । उनले उक्त मोर्चालाई ‘प्रौढहरुको क्लब’ को संज्ञा दिए ।
साथै, कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाउने विषय अहिले नसोचेको उनको भनाई छ । अहिलेको गठबन्धन सरकारले नेपालको संविधान, अन्तराष्ट्रिय सम्बन्ध र लोकतान्त्रिक व्यवस्थालाई धरासायी बनाएको उनको आरोप छ । यस्तो अवस्थामा पनि कांग्रेसले रमिता हेरिराखेको उनको टिप्पणी छ । मुलुक यसरी धेरै समय अगाडि बढ्न नसक्ने उनको दाबी छ ।
‘कांग्रेस–एमाले मिल्ने कि नमिल्ने भन्ने कुरा अहिले हामीले सोचेको छैनौं । परिस्थिति कसरी निकास हुन्छ हैन,’– उनले भने । File Photo/Reporters Nepal