काठमाडौं, असार ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाई झैँ अघि बढीरहेको बताएका छन्।
बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेको बताए। उनले योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आह्वान गरे।
उनले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै उनले पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताए। उनले पोखराबाट भारतका विभिन्न शहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताए।
मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सम्बन्ध बिस्तारका लागि कोशेढुंगा सावित भएको बताए।