बलेवा, ८ असार । बागलुङ नगरपालिकाले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार तेह्रौँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
यस कार्यक्रमअन्तर्गत छोरी जन्मिएपछि छोरीका नाममा नगरपालिकाले रु पाँच हजारको मुद्दती खाता खोली उक्त खातामा सम्भव हुने अभिभावकलेसमेत रकम थप गर्न पाउने गरी नगर छोरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रियरुपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरिने उनले बताए ।
समाजमा छोरी जन्मिएपश्चात् आमा र नवजात शिशुलाई गरिने व्यवहार, गर्भावस्थामा भ्रुणको जाँच, भ्रुणहत्या र छोरीप्रतिको दृष्टिकोणलाई चिर्न यो कार्यक्रम ल्याइएको श्रेष्ठको दाबी छ ।
बागलुङ नगरपालिकाले ‘जग्गाधनी र कृषकलाई जोडौँ, जमिन बाँझो नछोडौँ’ भन्ने उद्देश्यका साथ खेतबारीलाई बाँझो राखी आयातित वस्तुमा परनिर्भर हुने पद्धतिको अन्त्य गर्नका लागि जग्गा बाँझो छोड्ने जग्गाधनीलाई जरिवानाको व्यवस्था गर्ने भएको छ ।
त्यसैगरी ‘एक वडा एक पकेट’ एक मोडल फर्म सञ्चालनको सुरुआत गर्ने दूध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगर बनाउने, अन्तरपालिका समन्वयमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका मुख्यमुख्य धार्मिक एवं पर्यटकीय क्षेत्रलाई जोड्ने गरी बृहत् कृष्णगण्डकी सभ्यता पर्यटन विकास गुरुयोजना तयार गर्ने र बागलुङ घुम्न जाऔँ कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्यक्रम नीति तथा कार्यक्रम नगरिपालिकाले समावेश गरेको छ ।
त्यसैगरी सो नीति तथा कार्यक्रममा ‘एक वडा, एक छाक, एकरात’ अभियान पनि सञ्चालन गर्ने बताइएको छ । नगरपालिकाभित्र लगानीका क्षेत्रको पहिचान गरी बागलुङ लगानी सम्मेलन आयोजना गर्ने र यसमार्फत् ज्ञान, सीप, क्षमता स्थानीय समुदायमा हस्तान्तरण गर्न सहज हुने उल्लेख छ । आफू जन्मेको माटो र आफू हिँडेको बाटोलाई मायागरी मातृभूमि फर्कौँ भन्ने कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । रासस