काठमाडौं,१० असार । राष्ट्रियसभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८-७९, महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन,राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
कानुनमन्त्री गुरुङले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८-७९ पेस गरेका हुन् । त्यस्तै,गुरुङले महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन २०७८-७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८-७९ पेस गरेका छन् ।
कानुनमन्त्री गुरुङले आजै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पनि राष्ट्रियसभा समक्ष पेस गरेका थिए । file photo