कर्णाली, १४ असार । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुस्लिम धर्मावलम्बीको पर्व इदउल अज्हा (बकर इद)को शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै कर्णालीवासी, देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका हुन्। सन्देशमा भनिएको छ, “आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसीका साथ पर्व मनाउन र पुरानो सोच तथा संस्कृतिको अन्त्य गर्दै नयाँ सोच, विचार र संस्कृतिको विकास गर्नु आवश्यक छ ।”
नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गरेका प्रदेश प्रमुख परियारले यस पर्वले नेपालीबीच सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । रासस/File Photo