काठमाडौं, १५ असार । आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनको लाभ जनताले लिन नसकेको र जनताको जीवनस्तर अहिलेपनि जस्ताको त्यस्तै रहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तनको रटान लगाएरमात्रै नहुने भन्दै नेतृत्वको कार्यशैलीमा पनि आमूल परिवर्तनको आवश्यकत्ता औंल्याएका हुन् ।
उनले भने,‘अहिलेको व्यवस्थाको उपलब्धि कसलाई भएको छ ? जनतालाई त भएको छैन्, अहिले पनि जनताको जीवनस्तर उस्तै छ । मैले त कहीँ पनि परिवर्तन भएको देखेको छैन् ।’ उनले संघीयता पनि सही अर्थमा कार्यान्वयन नभएको गुनासो पोखे । संघीयतालाई उपलब्धिको रटान दिएरमात्रै नहुने भन्दै यसले जनताको अधिकार ध्वस्त बनाउने काम गरेको उनको जिकिर थियो । उनले भने,‘नेपालमा साँचो अर्थमा भन्ने हो भने संघीयता छैन् । अहिलेपनि संघीयताको नाम जे भनेपनि केन्द्रले हस्तक्षेप गरेको छ । अधिकारविहीन संघीयताले केही सकारात्मक परिवर्तन दिँदैन् ।’
विगतको इतिहासमा मधेश सम्पन्न भएपनि अहिले संघीयता आएपछि झन कमजोर बनेको र मधेशको अर्थतन्त्र पनि जर्जर बनेको उनको आरोप थियो । उनले भने,‘हिजो मधेश बलियो थियो, हामी आत्मनिर्भर थियौं । हिजो विदेशीहरु मधेशमा लगानी गर्न आँतुर थिए । तर, अहिले त भएको लगानी पनि पलायन हुने दिशातर्फ गैरहेको छ । यही हो संघीयताको उपलब्धि ? खाली शब्दमा संघीयताको उपलब्धि अथवा व्यवस्थाको उपलब्धि भनेर हुँदैन् । व्यवस्थाको उपलब्धि त नेताले उपभोग गरेका छन्, तर जनताको हालत दयनीय छ ।’ उनले नेताहरुले आफ्नो असफलता छोप्नको लागि व्यवस्था परिवर्तनको उपलब्धिको रटान लगाउने गरेको आरोप लगाए । उनले भने,‘व्यवस्था परिवर्तनको नाममा केही नेताहरुले जनतामा भ्रम छर्ने काम गरेका छन् ।’
हिजो मधेश हिजो सम्पन्न रहेको भएपनि संघीयताको नाममा अधिकारविहीन व्यवस्थाले विकास र हरेक दृष्टिकोणले आज मधेश पछि परेको उनको दाबी थियो । उनले पहिचानको सवालमा पनि अहिले अधिकारबाट बञ्चित गराउने काम भैरहेको आरोप लगाए । संघीयताको जतिसुकै ठूलो गफ गरेपनि अहिलेपनि सुरक्षा र राजश्व केन्द्रबाट परिचालित भैरहेकोले यसको साँचो अर्थमा कार्यान्वयन नभएको साहको टिप्पणी छ ।
लोकतन्त्रको कोणले पनि जनता कर्नरमा पारिएको र नेतामात्रै शक्तिमा रहने काम भैरहेको उनको अर्को गुनासो थियो । उनले अहिले गणतन्त्रको आडमा केही ठग नेताहरुले व्यवस्थाको दुहाई दिएर भ्रम फैलाएको भन्दै उपलब्धिको नाममा आफूले जताततै क्षतिमात्रै देखेको ठोकुवा गरे । संघीयताको कोणले पनि हिजो २० जिल्लाको मधेश अहिले ८ जिल्लामा खुम्चिएको उनको गुनासो छ । उनले व्यवस्था परिवर्तनको नाममा लोकतन्त्रको क्षयीकरण गर्ने र जनताको अधिकारलाई बञ्चित गर्ने नेताहरु बेलैमा सच्चिनुपर्ने बेला आएको आवश्यकत्ता औंल्याए । File Photo