काठमाडौं, १५ असार । पुष्पलाल अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा जन्म शताब्दी समारोह समिति घोषणा गरेको छ । पुष्पलाल श्रेष्ठ ९९औं वर्ष पुरा गरी एक सय वर्षमा प्रवेश अवसरमा आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमको घोषणा गरेको हो । पुष्पलाल वि.सं. १९८१ आसार १५ गते रामेछापमा जन्मिएका थिए ।
पुष्पलालको जन्म जयन्तीको अवसरमा विभिन्न कम्युनिष्ट नेताहरुले उनको तस्विरमा पुष्प अर्पण गरेका थिए । पुष्पलालको जन्म शताब्दीको अवसरमा स्मृति ग्रन्थ प्रकाशन, वैचारिक योगदानहरुमा विचार गोष्ठी, पुष्पलालको जीवनसँग प्रत्यक्ष रुपले गासिँएर काम गरेका नेता/कार्यकर्तालाई पुष्पलाल जन्म शताब्दी समारोह र मूल समारोह आगामी ०८१ साल असार १५ गते भव्य रुपमा मनाउने योजना रहेको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष लोककृष्ण भट्टराईले बताए ।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष भट्टराई अहिले देशमा रहेको गणतन्त्र जनताको हुन नसकेको टिप्पणी गरे । पुष्पलालको योगदानका कारण देशमा लगभग ७० प्रतिशत मत कम्य्निष्टहरुको पक्षमा रहेको दाबी गर्दै उनले कम्युनिष्टहरुले पुष्पलालको पथ पछ्याउन नसक्दा आम जनतामा चरम निराशा आएको बताए । नेपालमा अहिले रहेका साना ठूला २१ वटा कम्युनिष्ट पार्टीका नेताहरुलाई सल्लाहकार राखेर पुष्पलाल जन्म शताब्दी मनाउने तयारी रहेको उनले बताए । उनले रामेछापलाई कम्युनिष्टहरुको उद्गमस्थलको रुपमा चिनाउन चाहेकोसमेत स्पष्ट पारे ।
उनले रामेछापको पुष्पलाल पार्कमा पाँच जना कम्युनिष्ट पार्टीका संस्थापक र कृष्णलाल अधिकारी र गंगालालको शालिक निर्माणको थालनी भएको भएपनि अपुरो अवस्थामा रहेको बताए । उक्त कायम अहिले असरल्ल अवस्थामा रहेको र करिब पचास लाखभन्दा बढी भुक्तानी बाँकी नै रहेको उनको भनाई छ ।
‘रामेछापमा पुष्पलाल लगायत पाँच जना कम्युनिष्ट पार्टीका संस्थापक र सुब्बा कृष्णलाल अधिकारी र गंगालालको सालिक एकैचोटी पुष्पलाल पार्कमा स्थापना गर्ने भनेको पनि पाँच वर्ष भयो । त्यो सालिक बनाउन दिइएको छ र अहिले असरल्ल अवस्थामा छ । करिब–करिब पचास लाख त्यसलाई भुक्तानी दिनुपर्ने अवस्थामा छ, उनले भने ।
उनले पुष्पलाल पार्क बनाउन सहयोग गर्नका लागिसबै दलका नेता र सरकारसमक्ष आग्रह गरे । सबै कम्युनिष्ट पार्टीका लिडरहरुलाई अध्ययन समाजको सल्लाहकार राखेको बताउँदै उनले उक्त प्रस्ताव स्वीकार गरिदिन पनि आग्रह गरे ।