Logo

भरतपुरले मनायो धान दिवस



चितवन, १५ असार । भरतपुर महानगरपालिकाले राष्ट्रिय धान दिवस मनाएको छ । महानगरको कृषि तथा पशुपक्षी महाशाखाको आयोजनामा भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारीको जग्गामा धान रोपाइँ महोत्सव गरिएको हो ।

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले उपकरणबाट धान रोपेकी छन् । त्यसअघि प्रमुख दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले धानलाई पूजाआजा गरेर विधिवत्रुपमा रोपाइँको सुरुआत गरेका थिए।

भरतपुर भ्रमण वर्ष सन् २०२४ को प्रचारात्मक अभियानसँगै धान दिवस मनाइएको हो । सोही अवसरमा जनप्रतिनिधि र स्थानीय युवाको हिले दौडसमेत गरिएको छ । रोपाइँ कार्यक्रममा महानगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी तथा पर्यटन क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

धान रोपाइँ गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरप्रमुख दाहालले कृषि क्षेत्रको विकासका लागि आफू प्रमुख भएदेखि काम गरिरहेको बताइन् । सिँचाइ नपुगेका ठाउँमा सिञ्चित गर्ने, कृषि उपकरण अनुदानमा वितरण गर्ने, दूध, मल र बीउमा अनुदान दिनेलगायत काम भएको उनको भनाइ छ । दाहालले भनिन्, “कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि भरतपुर महानगपालिकाले कृषकलाई बीउ, उपकरणलगायत सामग्रीमा सहयोग गरिरहेको छ ।” कृषि क्षेत्रको विकासका लागि थप योजना गरिने उनले बताइन्।

उपप्रमुख अधिकारीले भरतपुरको सहरी क्षेत्रबाहेकका ग्रामीण क्षेत्रभित्र पहिले सिँचाइको अभावमा कृषिजन्य उत्पादन सन्तोषजनक नहुने गरेको भन्दै अहिले सुख्खा टाँडी हराभरा बनेको बताइन् । उनले भनिन्, “अबको केही वर्षभित्रमै हिउँदमा सबैतिर सिँचाइ पु¥याउने गरी महानगरले काम गरिरहेको छ ।”

कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष यमलाल कँडेल, वडा नं ८ का वडाध्यक्ष जीवनाथ कँडेललगायतको सहभागिता थियो । कार्यक्रममा सन् २०२४ लाई ‘भ्रमण वर्ष’का रुपमा मनाउन प्रचारात्मक अभियानमा लाग्ने जोड दिइएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्