Logo

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल



काठमाडौं,१७ असार । केही दिनदेखि मुग्लिन–नारायणगढ सडक खण्डमा दिनहुँ पहिरो झर्दा नागरिकको यात्रा कष्टकर भइरहेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको ३ नम्बर पुलमा पटकपटक झरेको पहिरोले यो सडक खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।

यो ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो ।

पुल बनेको भए यतिबेला पहिरोका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो । मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा नागरिकले यो पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे । त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे–आँबुखैरेनी नभइ बुद्धसिं मार्ग भएर यो पुल तरेर भरतपुरको घुमाउने निस्किन पाउँथे ।

नौ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । यो ठाउँमा पुल निर्माण अलपत्र हुँदा मुग्लिन–नारायणगढ खण्डको तीन किलोमा गएको पहिरोले घन्टौँसम्म यात्रु अलपत्र पर्नुपर्ने अवस्था आएको युवा अभियन्ता प्रविण पौडेलले बताए । उनले भने ‘यात्रु गन्तव्यसम्म जानका लागि घन्टौँ पहिरोले थुनिएर अलपत्र बन्नुपरेको छ, घुमाउनेमा पुल बनेको भए वैकल्पिक मार्ग हुँदै यात्रु आवतजावत गर्न पाउँथे’ ।

पौडेलले घुमाउनेको पुल निर्माण सम्पन्न गर्नेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताए । उनले भने ‘घुमाउनेको अलपत्र पुल हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ, पुल बनेको भए आज अलपत्र भएर बस्नु पर्दैनथ्यो, बुद्धसिं मार्गमा पनि यस अगाडि नै कालोपत्र भइसक्नुपर्ने थियो ’ ।

भरतपुर घर भइ दमौलीमा बसोबास गर्दै आएका प्रकाशचन्द्र भट्टराईले यो पुललाई समयमै पूरा गर्न सकेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा यो मार्ग विकास हुने बताए । उनले भने ‘यो पुललाई देखाएर धेरैले राजनीति गर्नुभयो, तर ठेकेदारलाई ल्याएर काम गराउनेतिर कसैले पहल गरेनन् ’ ।

उनले मोटरसाइकलमार्फत् बुद्धसिंह मार्ग हुँदै झोलुङ्गे पुल तरेर यात्रा गर्दै आएका छन्। मुग्लिन–नारायणगढ खण्डमा पहिरोले दैनिक राजमार्ग अवरुद्ध हुँदा पुलको दुईतिर ठडिएका पिल्लर हेरेर चित्त बुझाउनुको विकल्पको नभएको उनको भनाइ छ ।

विसं २०७१ साल असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले बताए ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन, सम्बन्धित निकायमा पनि पटकपटक ध्यानाकर्षण गरायौँ, चुमानले भने । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रुपैयाँ रहेको छ । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि केही समय अगाडि तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुलको स्थलगत अवलोकन गरेका थिए ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले केही समय अगाडि घुमाउने पुलको अवलोकन गर्दै यसलाई चाँडो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गर्ने बताएका थिए ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको यो मोटरेवब पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।

यो पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान अहिले सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा तनहुँकै सिमानामा पुगेर गाडी फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रका लागि गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्ला जान समय बचत हुने बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बास्तोलाको भनाइ छ । तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमितरुपमा साना बस तथा दुईपाङ्ग्रे गाडी आउने जाने गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्