काठमाडौं, १८ असार । जनमत पार्टीका महासचिव चन्दन सिंहले आफूहरु सरकारमा जान खुट्टा उचालेर नबसेको दाबी गरेका छन् ।
‘हिजो प्रधानमन्त्रीजीसँग हाम्रा राष्ट्रिय अध्यक्षजीको कुरा भएको थियो । आज पनि कुरा हुँदैछ । प्रधानमन्त्रीजीले जनमत पार्टीलाई सरकारमा सामेल गर्ने कुरामा लचकता देखाउनुभएको छ । उहाँ गठबन्धन र सरकार टिकाउने कुरामा गम्भीर बन्नुभएको छ । आजभोलिमा कुरा सल्टिएला । तर हामी सरकारमा जान खुट्टा उचालेर बसेको कुरा सत्य होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
आफूहरु विकासको वातावरण बनाउन सक्ने मन्त्रालय लिएर सरकारमा सामेल हुन चाहेको पनि सिंहले बताए । उनले थपे, ‘अहिले मधेसलाई कर्णालीभन्दा पनि हेपेर बजेट बनाइएको छ । त्यो संशोधनका कुरा छन्, मधेसका अरु मुद्दा पनि छन् । विकासको वातावरण बनाउन सक्ने मन्त्रालय दिए सरकारमा जाने बारमा सोच्न सकिन्छ ।’
सरकारमा कुन मन्त्रालय लिने र त्यसमा कसलाई पठाउने भन्नेबारे राष्ट्रिय अध्यक्ष डा. सीके राउतले नै निर्णय गर्ने पनि उनले बताए । सिंहले भने, ‘सरकारमा को जाने भन्ने अहिले कुनै निर्णय भएको छैन । हामीले त्यसको जिम्मा अध्यक्षजीलाई नै छाडिदिएका छौं । उहाँले परिस्थिति हेरेर निर्णय गर्नुहुन्छ ।’