Logo

‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग



दमौली, १८ असार । तनहुँको आँबुखैरेनी अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गरी सो आग्रह गरेका हुन् ।

सो अवसरमा वडाध्यक्ष केसीले अस्पतालमा रक्त सञ्चारका लागि पनि आवश्यक उपकरणको व्यवस्था मिलाउन पहल गरिदिन सभापति देउवालाई आग्रह गरेका थिए । सभापति देउवाले अस्पतालका लागि डायलासिस उपकरण व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गर्ने जानकारी दिएको वडाध्यक्ष केसीले बताए। ऑबुखैरेनी गाउँपालिकाले आगामी आव २०८०/८१ मा अस्पतालमै डायलासिस सेवा सुरु गर्ने जनाएको छ ।

यसका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममै यसलाई उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौला पीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलासिस सेन्टर स्थापना गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलासिस उपकरण सञ्चालनमा छ ।

मिर्गौला पीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ । दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ । उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई नयाँ उपकरण पठाएको छ ।

प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई उपकरण आइपुगे पनि जडान हुन बाँकी रहेको छ । चारवटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । उनका अनुसार केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० जना रहेका छन् । तर अझै ३० मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिंदै छन् । गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने पालिका अध्यक्ष चुमानले बताए । रासस



प्रतिक्रिया दिनुहोस्