Logo

आर्थिक सवालमा माधव नेपाल सबभन्दा ‘क्लिन’ मान्छे हो : पाण्डे



काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी) को नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ललिता निवास प्रकरणमा दोषी नभएको दाबी गरेका छन् ।
‘माधव नेपालले ललिता निवासको जग्गा हिनामिना गरेर कुनै मोलाहिजा गर्नुभएको छैन । आर्थिक सवालमा माधव नेपाल सबभन्दा क्लिन मान्छे हो । कुनै लालच नभएको मान्छे हो । उहाँलाई कुनै प्रतिशोधको भावना राखेर भन्नुपर्ने केही छैन । उहाँको तर्फबाट आर्थिक अनियमितता भएको छैन । यति कुरा म ढुक्कसाथ भन्न सक्छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पाण्डेले प्रतिशोधपूर्वक माधव नेपाललाई बदनाम गर्न खोजिएको दाबी गरे । उनले भने, ‘ललिता निवास बालुवाटारको तारबार र बाटो खोल्ने नियमित निर्णय थियो । माधव नेपाल नेतृत्वको सरकारले विगतको सरकारले गरेको निर्णय अनुसार प्रक्रिया अघि बढाएको हो । त्यसबारे अख्तियारले खोज्यो, अपराध भन्न सकेन । सीआईबीले पनि अपराध भन्न सकेन । सरकारी जग्गामा भृकुटीमण्डप, कमलादी कहाँ बाटो खुलेको छैन ? त्यसलाई तोडमरोड गर्ने प्रयास भएको होला । कोही दोषी छ भने कारबाही गर्नुपर्छ । तर सबैलाई एउटै घानमा हालेर व्यक्तिलाई बदनाम गर्नु ठीक होइन ।’
उनले वर्तमान गठबन्धन पाँच वर्ष चल्ने ठोकुुवा पनि गरे । पाण्डेले भने, ‘गठबन्धन सरकार पाँच वर्ष निरन्तर जान्छ । जेन्टेलम्यान सहमति अनुसार अघि बढ्छ । यसले नै अर्को चुनाव गराउँछ ।’ जनमत पार्टीले सरकारमा जाने इच्छा गरे पनि त्यसलाई अघि बढाउनु प्रधानमन्त्रीका निम्ति चुनौतीपूर्ण भएको बताए ।
तटस्थ, स्वायत्त र स्वयंसेवी सहायता संस्था रेडक्रसमा दलीय भागबन्डा त अति भएन भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले भने, ‘रेडक्रस निष्पक्ष र निस्वार्थ सेवाभावले काम गर्ने संस्था हो । यसमा दलीय झुकाव भएका व्यक्तिहरु हुन सक्छन् । तर भागबन्डा नै भयो भनेर अतिरञ्जित गर्नुपर्ने अवस्था छैन । त्यसको व्यवस्थापकीय पक्षमा कुनै कमी रहँदैन ।’



प्रतिक्रिया दिनुहोस्