Logo

रामपुरलाई नमुना नगरपालिका बनाउँछौं : मेयर थापा



काठमाडौं, २१ असार । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण थापाले यसपटकको बजेटमा कृषिलाई प्राथमिकतामा राखेको बताएका छन् ।
‘रामपुरको विकासका लागि हामीले एकीकृत योजना बनाएका छौं । रामपुर उपत्यका उर्वर भूमि हो । यहाँ सिँचाइको पनि सुविधा छ । एक वडा एक उत्पादनको अवधारणा ल्याएका छौं । धान, गहुँ आदि उत्पादनको पकेट क्षेत्र घोषणा गरेका छौं । आँप र लिचीको जुस उत्पादनमा जोड दिएका छौं । कृषकलाई ३० लाखसम्मको ब्याजमा अनुदान दिएका छौं । लिफ्टिङ सिँचाइको कुरा छन् । कृषकहरु उत्साहित छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
मेयर थापाले यसपटकको बजेटमा पर्यटनलाई पनि महत्त्व दिएको बताए । उनले थपे, ‘रामपुर कालीगण्डकी क्षेत्रमा पर्छ । यहाँ रामसीता वनबास बसेको पर्यावरणीय र धार्मिक क्षेत्र पनि पर्छ । रामसीताको मूर्ति पनि तयार गरेका छौं । कालीगण्डकीमा प्याराग्लाइडिङ, र् याफ्टिङ, बोटिङ सुरु गरेका छौं । राम्दीदेखि देवघाटसम्म स्नान गर्न जानका लागि १ करोड २० लाखमा पैदलमार्ग बनाउँदै छौं ।’
मेयर थापाले रामपुरलाई नमुना नगरपालिका बनाउने उद्घोष पनि गरे । उनले भने, ‘यो मेरो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा कोभिडको लहर, कर्मचारी अभाव आदिका कारण सोचेजति काम गर्न सकेनौं । अघिल्लो कार्यकालमा पूर्वाधारको विकासमा जोड दियौं भने अब सुशासन र सामाजिक विकासमा जोड दिएका छौं ।’ रामपुरमा रिङरोड र डोमेस्टिक एयरपोर्ट अनि  ५, १०, १५, २० वर्षे आवधिक योजना बनाएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्