Logo

पूर्वराजा ज्ञानेन्द्रको ७७औं जन्मोत्सव भव्यताका साथ मनाउन राजावादीहरुको आग्रह (भिडिओसहित)



काठमाडौं, २१ असार । राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको ७७औं जन्मजयन्तीको अवसरमा देशव्यापी रुपमा दीप–प्रज्वलन गर्न आह्वान गरेका छन् । उनीहरुले राजा र देशको सुख, शान्ति, सुस्वास्थ, समृद्धिको कामना गर्दै पूजापाठ, दीपावली र विभिन्नको सप्ताहव्यापी कार्यक्रम आयोजना पनि गरेका छन् ।

नागरिक मूल आयोजक समिति २०८० ले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । समितिले आगामी असार २३ गते साँझ ७ बजेर ७ मिनेटमा ७७ वटै जिल्ला सदरमुकामहरु, पालिका, गाउँ, घर, टोल–टोल र घरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ । काठमाडौंमा निर्मल निवासको गेट अगाडि विशेष कार्यक्रम रहने पनि बताइएको छ ।

समितिका उपाध्यक्ष चक्रदेव जोशीले असार २३ गते पूर्वराजाको जन्मोत्सवलाई भव्य रूपमा मनाउन आग्रह गरे । अहिलेका प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार नभएको उनको भनाई छ । नेपाली देश गणतन्त्रवादीको हातबाट विदेशीलाई सुम्पने कि नेपाली भएर बाँच्ने भन्नेबारे नेपाली जनताले सोच्न आवश्यक रहेको उनले बताए । नेपाल र विदेशमा बसेका सबै नेपालीलाई धर्तीको रक्षाका लागि राजाको जन्मोत्सव मनाउन उनले आग्रह गरे ।
‘हामी ७७ वटै जिल्लामा २०८० साल असार २३ गते साँझ ७ बजेर ७ मिनेटमा ७७ वटै जिल्लाका सदरमुकाम, पालिका, वाड–वाड र टोल–टोलमा दीप प्रज्वलन गरी श्री ५ महाराजधिराजको सुस्वास्थ्य, दीर्घायु र राष्ट्र रक्षा गर्ने र नेपाललाई राष्ट्रिय एकताको शुत्रमा बाँध्न सक्ने शक्ति मिलोस् भनेर हामीहरु देशव्यापी रुपमा कार्यक्रम गर्न गइरहेका छौं,’– उनले भने ।

अर्का वक्ता विनोदप्रसाद आचार्यले यो देशको लागि सबैभन्दा महत्वपूर्ण अभिभावकाको खाँचो भएको बताए । यो देशको अभिभाव राजा नै भएको उनले बताए । राष्ट्रपतिलाई आफूहरुले राष्ट्रपति नमानेको समेत उनले बताए । नेपालको सुदृढ राष्ट्रियता, देशभक्तिपूर्ण लोकतन्त्र र समतामूलक समाजवाद ल्याउनका लागि राजा संस्था पुनस्र्थापना गर्न आवश्यक रहेको उनले बताए ।

नागरिक मूल आयोजक समिति २०८० का अध्यक्ष किशोरी महतोले सम्पूर्ण नेपालीलाई पूर्व राजाको ७७औं जन्मोत्सव मनाउन आग्रह गरे । नागरिक मूल आयोजक समिति २०८० का महासचिव राधेश्याम थापाले देशको सबैभन्दा बढी माया राजालाई रहेको बताए । उनले ७ बजेर ७ मिनेटमा दीप प्रज्वलन गरी राजाको जन्मोत्सव मनाउन आग्रह गरे । काठमाडौंमा आफूहरुले निर्मल निवास अगाडि दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको पनि उनले बताए । कार्यक्रममो केशरी श्रेष्ठ, निरा रञ्जित लगायतको सहभागिता हरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्