काठमाडौं । पत्रकार सुनिल सापकोटालाई अभद्र व्यवहार गर्ने भू–माफिया हरिप्रसाद गिरीलाई ५ हजार धरौटी मागिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले अभद्र व्यवहार मुद्दामा भूमाफिया गिरीसँग ५ हजार धरौटी मागेका हुन् । सीडीओ भएर आएकै दिन बस्नेतले पत्रकारमाथि अभद्र व्यवहार गर्ने भू–माफिया गिरीलाई ५ हजार रुपैयाँ धरौटी मागेका छन् । उनी ५ हजार धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।
सीडीओ बनेस्तको इजलासले जाहेरी दरखास्त, प्रतिवादीहरुले अधिकारप्राप्त अधिकारी एवं इजलास समक्ष गरेको वयान, अभियोग–पत्रसहितका तत्काल प्राप्त प्रमाण कागजातहरू अध्ययन गरी हेर्दा यी प्रतिवादीहरूले आरोपित कसूर अपराध गरेका होइनन् भन्न सकिने मनासिव आधार नदेखिएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादीहरूसँग मुलुकी फौजदारी (संहिता) ऐन, को परिच्छेद ७ को दफा ६८ (१) अनुसार ५ हजार धरौटी मागेको हो । उक्त रकम बुझाएर गिरी तारेखमा छुटेका हुन् । उक्त रकम नबुझाएका भए उनी पुर्पक्षका लागि थुनामा जाने थिए ।
अनामनगरस्थित ५ आना धोबीखोला जनिएको सरकारी जग्गा भू–माफिया गिरीले हालसाबिक गरेर दुषित दर्ता गरी खाएका थिए । उक्त विषयमा पत्रकार सापकोटाले समाचार लेखेपछि नेपाल सरकारको नाममा फिर्ता आएको छ । त्यो विषयलाई लिएर भू–माफिया गिरीले स्वास्थ्य लाइभका सम्पादकसमेत रहेका पत्रकार सापकोटालाई अभद्र व्यवहार गरेका थिए । तिनै भूमाफिया गिरीलाई सीडीओ बस्नेतले धरौटीमा छाडेका हुन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ का एमालेका सचिवालय सदस्यसमेत रहेका गिरीलाई छाड्न प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले समेत दबाव दिएको चर्चा छ । तर, उनीमाथि अभद्र व्यवहारमा मुद्दा दायर भएर धरौटी खोलिएको छ । प्राप्त फुटेजका आधारमा अन्तिम फैसला हुँदा गिरी जेल जाने उच्च सम्भावना छ ।