काठमाडौं, २२ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा लिएको एकपछि अर्को निर्णयमा आफूहरुो शतप्रतिशत सहमति रहेको बताएका छन् । काठमाडौंमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘म सत्तापक्षकै सांसद हुँ, अहिले प्रधानमन्त्रीज्यूको नेतृत्वमा खासगरी सुशासनको पक्षमा र भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला ठूला काण्डहरुको सन्दर्भमा एकपछि अर्को महत्वपूर्ण निर्णयहरु, तीप्रति हाम्रो शतप्रतिशत सहमति छ । समर्थन छ । पशुपतिको विषय पनि उठाईएको छ ।’
सरकारले भ्रष्टाचारको विरुद्धमा गरेको कामको सम्बन्धमा आफूहरुको समर्थन रहेपनि डेलिभरीको सन्दर्भमा भने असहमति रहेको उनको भनाई छ । उनले अहिले आर्थिक संकटको अवस्था रहेको सुनाए । उनले सत्ता गठबन्धनका नेताहरुलाई आफूहरु बहुमतमा छु भनेर सबै ठीकठाक लागेपनि आफूहरुलाई ठीकठाक नलाग्नसक्ने भन्दै सचेत गराए । अहिले उनले आफूहरुले प्रतिनिधित्व गरेको जनतालाई ठीकठाक नलागेको टिप्पणी गरे ।
Photo By: Mukunda Kalikote/ReportersNepal