Logo

आजपाको उपस्थितिले शासकहरुको मनमा ढ्यांग्रो बजिसक्यो, हामी जनताको हितमा चट्टान भएर उभिन्छौं : बद्रि न्यौपाने



काठमाडौं, २२ असार । आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री बद्रि न्यौपानेले देश र जनताले भरोसा गर्नलायक पार्टीको रुपमा आफ्नो दल उभिएको बताएका छन् । पछिल्लो समय पार्टीप्रतिको क्रेज ह्वात्तै बढेको भन्दै नेतृत्वले लिएको नीति र सिद्धान्तअनुसार नै आफूहरु गोलबन्द भएको उनको टिप्पणी छ ।

पार्टीको आज (शुक्रबार) आयोजित उपत्यकास्तरी भेलालाई सम्बोधन गर्दै नेता न्यौपानेले देशमा दिनप्रतिदिन बेथित, विसंगति र विकृति मौलाएको भन्दै त्यसलाई रोक्नको लागि पनि आफूहरु मैदानमा उत्रिएको बताए । आजपाले आज भेला सुरु हुनुअघि गरेको विभिन्न र्याली तथा झाँकीले पनि जनतालाई दमन र शोषण गर्ने शासकहरुको ढ्यांग्रो ठोकिएको उनको भनाई छ ।

उनले भने,”हाम्रो देशका शासकहरुलाई ढ्यांग्रो ठोकाउनको लागि आज आइटी आर्मीको नेतृत्वमा विशाल र्याली सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा हुने गरेको ठगीको साथै तमाम बेथिति, विकृति र विसंगतिविरुद्ध लड्नको लागि हाम्रो पार्टी सडकमा उत्रिएको छ । आजको भेलालले कुशल नेतृत्व चयन गरेको छ। हाम्रा आगामी कदम देश र जनताको हितमा नै केन्द्रित हुनेछन् । सदनमा पनि हाम्रो जबरजस्त उपस्थिति छ । श्रद्धय अध्यक्ष प्रभु साहले सदनमा जनताको आवाज बुलन्द पार्नुभएको छ। सडकमा हामी सशक्त आवाज लिएर उभिएका छौं ।”

उनले पार्टी स्थापना भएको धेरै समय नभएपनि छोटो समयमा नै सही दिशा लिएको कुरा पार्टीप्रति देखिएको उभार र आकर्षणले पुष्टि गरिसकेको दाबी गरे । उनले भने,”पार्टी स्थापनाको छोटो समयमा नै यसले आफ्नो भविष्य देखाएको छ । देशव्यापी रुपमा पार्टीको जबरजस्त उपस्थिति देखाएका छ । हिजो जनकपुरमा पनि हाम्रो भातृ संगठन मुस्लिम मोर्चाले विभिन्न माग राखेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जनकपुरमा विशाल र्याली सम्पन्न भएको छ । यस्तै, हिजै उपाध्यक्ष तिलक थापाको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश कमिटी गठन भयो । आजपा देशले चाहेको परिवर्तन शक्तिको रुपमा उभिएको छ। हामी जनतालाई विकल्प दिनेगरि उभिएका छौं ।”



प्रतिक्रिया दिनुहोस्