काठमाडौं, २५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओलीका कारण माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपा नजोगिएको आरोप लगाएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दे उनले ओलीको घमण्डले नै नेकपा नजोगिएको टिप्पणी गरेका हुन् । नेकपा जोगाउन नसक्दाको परिणाम अहिले एमाले घाईत अवस्थामा रहेको उनले बताए ।
‘एमाले घाईते छ, उसको पीडा पनि बुझ्नुपर्छ । ०७४ मा हामी सबै वामपन्थी भएर उसलाई त्यतिमाथि लगिदिएका थियौं, त्यत्रो शक्तिशाली थियो । किन रोइस् मंगले, आफ्नै ढंगले । पछिल्लो पटक त प्रचण्डलेसमेत प्रधानमन्त्रीको बाँकी आधा समय नदिने भए भनेर भैहाल्यो पाँच वर्ष तपाईँ नै प्रधानमन्त्रीको डुबुल्की मार्नुस्, मलाई पार्टी चलाउन दिनुस् भन्दाखेरि नमानेको त हो त ।’ उनले भने, ‘०७४ को त्यो नेकपाको जनमत राख्न पाएको भए अहिलेसम्म मुलुकमा वामपन्थीहरुको पकड कति बलियो हुन्थ्यो ?’
नेता केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पुस्तक विमोचनमा दिएको अभिव्यक्ति आलोचनायोग्य कुरा भएपनि त्यसैका आधारमा राजीनामा दिन आवश्यक नरहेको बताए । नेपाल पूर्णरुपमा स्वतन्त्र छ भनेर गाउँने गीतमात्रै भएको उनको टिप्पणी छ । नेपालमा शक्ति राष्ट्रहरुको हस्तक्षेप रहेको उनको दाबी छ । प्रचण्डले राजीनामा दिएमा देशमा झनै अस्थिरता कायम हुने उनको दाबी छ ।
गठबन्धन सरकारले कोशीमा एक्लै बहुमतको नजिक रहेको एमालेलाई चोट पुर्याएको उनले बताए । उनले सत्ता र शक्तिका लागि अहोरात्र लडाई भएपछि देश विकास हुन नसक्ने बताए । दलहरु कसरी सत्ता र शक्तिमा जाने र एकले अर्कालाई कसरी सिध्याउने भनेर लागिपरेको उनको भनाई छ । जनता निरास हुँदै गएको खण्डमा देशको दुषपरिणाम व्यवस्था नै धरापमा पर्ने उनको बुझाई छ ।