Logo

सरकारसँग तीन बुँदे माग राख्दै दुई विद्यार्थी संगठनद्वारा संघर्षका कार्यक्रम घोषणा, संघीय शिक्षा ऐन नल्याई सडकबाट नफर्किने



काठमाडौं, २५ असार । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) ले तत्काल शिक्षा संघीय शिक्षा ऐन जारी नभए चरणवद्ध आन्दोलनमा जाने घोषणा गरेका छन् । दुई विद्यार्थी संगठनले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्दै पञ्चायती शिक्षा ऐन खारेज भएर नयाँ शिक्षा ऐन ल्याउन आवश्यक रहेको बताएका हुन् ।

व्यक्ति र देश विकासको मूल आधार शिक्षा भएपनि नेपालमा अहिलेसम्म पञ्चायती शिक्षा ऐन रहेको त्यसले निकास दिन नसक्ने संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । देश सघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा गएर संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि संघीय शिक्षा ऐन आउन नसक्नु आफैंमा लज्जास्पद विषय भएको उनीहरुको ठहर छ ।

उनीहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गनुर््पर्ने, संघीय शिक्षा ऐन जारी हुनुपर्ने र विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू हुनपर्ने माग राखेका छन् । सरकारलाई दवाब दिनका लागि दुई विद्यार्थी संगठनले संयुक्त रुपमा असार २७ गते शान्तिपूर्ण प्रदर्शन, २८ गने देशव्यापी हस्ताक्षर संकलन अभियान र ३१ गते वृहत अन्तकृया कार्यक्रम घोषणा गरेको हो ।

अखिल (क्रान्तिकारी) का संगठन विभाग प्रमुख बालकुमार केसीले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक भएमा नेपालको शैक्षिक प्रणालीमा भएको तहसनहस अवस्थामा सुधारका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अखिल (क्रान्तिकारी) का संयोजक पवन कार्कीले अहिले पञ्चायती व्यवस्थाले निर्माण गरेको शिक्षा ऐन चलिराखको टिप्पणी गरे । निरंकुश राणा शासन र राजतन्त्र फालेको विद्यार्थी आन्दोलनले अव पञ्चायती शिक्षा ऐन स्वीकार गरेर नबस्ने उनको भनाई छ ।

‘पञ्चायती व्यवस्थाले निर्माण गरेको शिक्षा ऐन चलिराखेको छ । देशमा निरंकुश राजतन्त्रको अन्त्य भयो, पञ्चायती व्यवस्थाको पनि अन्त्य भयो, संघीय लोकतान्त्रिक गणतन्त्रात्कम व्यवस्था आएको छ । तर, पनि देशको विकास र समृद्धिको मूल जग भनेर चिनिएको शिक्षा क्षेत्रमा परिवर्तन हुन सकिराखेको छैन । जसको कारण हाम्रो देशको आवस्यकता अनुसार हामीले शिक्षा प्राप्त गर्न सकिराखेका छैनौं,’– उनले भने ।

सरकारले संघीय शिक्षा ऐन निर्माणका काम तत्काल थाल्न आवश्यक रहेको उनको भनाई छ । संयोजक कार्कीले संसद् र सरकारले देश र जनताको भविष्य निर्माणसँग जोडिएको ऐनहरु निर्माणमा ध्यान दिन नसकेको आरोप लगाए । उनले निष्कर्षमा नपुगी आफूहरुले अब यो आन्दोलन अन्त्य नगर्ने बताएका छन् । अब हुने संघर्षलाई उनले निर्णायक संघर्षको संज्ञा दिएका छन् ।

नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँले यो विद्यार्थी आन्दोलन पञ्चायती शिक्षा ऐनसँग नझुक्ने र निरन्तर संघर्षमा जाने बताए ।
‘विद्यार्थी आन्दोलन न राणा शासनसँग झुक्यो, न पञ्चायतसँग झुक्यो, न राजा ज्ञानेन्द्रको शासनसँग झुक्यो । यो विद्यार्थी आन्दोलन पनि पञ्चायती शिक्षा ऐनसँग झुक्दैन । नयाँ शिक्षा ऐन ल्याएरमात्रै सडकबाट फर्किन्छ,’– उनले भने ।

नीजि विद्यालयका सञ्चालक, र राजनीतिक दलका केही नेताहरुको स्वार्थमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन लुकाएको आरोप लगाए । एक करोड ३० लाख रुपैयाँ खर्च भएर तयार पारिएको प्रतिवेदन सीमित व्यक्तिको स्वार्थमा लुकाउन नहुने उनले बताए । उक्त रकम अहिले पनि शिक्ष मन्त्रालयमा बेरुजु अवस्थामा रहेको उनको दाबी छ । उनले भ्रष्टाचारीको फाईल खोलेको सरकारले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन पनि खोल्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष ओमनारायण महतो, महासचिव सरोज थापा, अखिल (क्रान्तिकारी) का प्रवक्ता उपदेश यादव, वार्ता सम्वाद समिति संयोजक सागर केसी लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्