Logo

सिके राउतसँग आजपाका शीर्ष नेताहरुको भेट



काठमाडौं, २६ असार । प्रभु साह नेतृत्वको आम जनता पार्टीका शीर्ष नेताहरुले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भेटवार्ता गरेका छन् । आजपाका वरिष्ठ उपाध्यक्ष बद्रि न्यौपाने र उपाध्यक्ष रामप्रित रामले आज (मंगलबार) राउतसँग भेटवार्ता गरेका हुन् । जनमतको मुख्यालय बुद्धनगरमा भएको भेटवार्तामा देश र जनताको हितको विषयमा सहकार्य गर्नेबारे कुराकानी भएको आजपाका वरिष्ठ उपाध्यक्ष न्यौपानेले जनाएका छन् ।

उनले राउतसँगको भेटवार्ताबारे जानकारी दिँदै फेशबुकमा मुलुकमा विद्यमान सबैखाले समस्या समाधानको लागि विचार मिल्ने दलहरुसँग सहकार्य गरिने स्पष्ट पारेका छन् । उनले लेखेका छन्-

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सिके राउतसँग फलदायी भेटवार्ता । आम जनता पार्टीको तर्फबाट म र अर्का उपाध्यक्ष रामप्रितजीले माननीय राउतसँग आज उहाँको पार्टी मुख्यालयमा भेटवार्ता गरेका छौं । सो भेटवार्तामा देश र जनताको हितमा सहकार्य गर्नेबारे प्रारम्भिक छलफल भएको छ । आजपा देशका विद्यमान समस्या समाधानको लागि विचार मिल्ने दलहरुसँग सहकार्य गर्दै अग्रगामी मोर्चा बनाउनेगरि अघि बढेको छ । 

पछिल्लो समय आजपाका अध्यक्ष प्रभु साहले देशलाई जोगाउनको लागि अब अग्रगामी मोर्चा बनाउनुपर्ने बताउन थालेका छन् । साहले देश पछिल्लो समय सबै हिसाबले संकटमा परेको भन्दै बचाउनको लागि अब अग्रगामी मोर्चा बनाउनुपर्ने आवश्यकत्ता औंल्याएका थिए । गत शुक्रबार पार्टीको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले देश बचाउनको लागि विचार मिल्नेहरुको मोर्चा बनाउन विलम्ब गर्न नहुने धारणा राखेका थिए । साह सत्ता गठबन्धनमा छन् । तर, उनले सरकारले लिने गलत निर्णय र चाल्ने गलत कदमको भने खुलेर आलोचना गर्ने गरेका छन् । उनले देश नै अहिले बर्बाद भएको गुनासो गर्ने गरेका छन् ।

प्रभु साहको उद्घोष : देश बचाउन अब अग्रगामी मोर्चा बनाउनुपर्छ



प्रतिक्रिया दिनुहोस्