Logo

देवी खड्काको सम्झनामा सीता दाहाल ‘उहाँमा हाँसो कहिल्यै देखिँन’



काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी एवं नेकपा (माओवादी केन्द्र) कि सल्लाहकार सीता दाहालको हिजो (बुधबार) निधन भयो । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । सीता दाहाल प्रचण्ड पत्नीमात्रै नभएर तत्कालीन माओवादी सशस्त्र विद्रोहको पूर्णकालीन सदस्यसमेत हुन् । पुष्पकमल दाहाललाई प्रचण्ड बनाउनमा अहम भूमिका निर्वाह गरेकी सीताको जीवनमा कहिल्यै पनि हाँसो नदेखिएको बताउँछिन् माओवादी नेतृ देवी खड्का । माओवादी आन्दोलनमा सहभागी भएर ठूला–ठूला आघातको चक्रहरु पार गरेकी देवी खड्काको नजर सीता दाहाल एक प्रेरणाको पात्र हुन् । उनीबाट धेरै कुरा सिक्न सकिने र उनको जीवन संघर्षले हरेक महिलालाई साहस प्रदान गर्ने बताउँछिन् उनी । प्रस्तुत छ सीता दाहालको निधनपछि प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँगको संवादको सम्पादित अंशः

तपाईँले चिनेको सीता दाहाल कस्तो नारी हुनुहुन्थ्यो ?

मैले मेरो जीवनमा दुई जना महिला भेटाएँ, एक जना २०१८ को नोभेल शान्ति पुरस्कार पाएको हुनुहुन्छ नदिया मुराद । अर्को नेपालको सीता दाहाल । यी दुई जना महिलाहरुको हाँसो हराएको थियो । भनेको मतलब नदिया मुरादको पनि छ जना परिवार बेपत्ता हुनुहुन्थ्यो । दुई जनाको लास भेटियो अरु भेटाएको छैन । उहाँ आफैं पनि ठूलो पीडाबाट बाँचेको सीता दाहाल पनि एउटा सामान्य परिवारमा जन्मिएको, सामन्य साक्षर महिला । तर, यस्तो धेरै संघर्षको भुमरीमा पर्नुभयो, यसो हेर्दाखेरी शक्तिमा, ठूलो मान्छेको संगत भनेको जस्तो देखिन्छ । जिम्मेवारी नै जिम्मेवारीको बोधले हाँसो दबिएको, अर्को चाहिँ नेपाली समाजमा परिवर्तनको क्रमसँगै महिलाहरुलाई विभिन्न जिम्मेवारी थपिँदै गयो । पुरानो जिम्मेवारीहरु कटौति भएन । यसलाई सरल भाषामा भन्दाखेरी उहाँमा सार्वजनिक जिम्मेवारी पनि थियो र पारिवारिक जिम्मेवारी पनि थियो । त्यो दुईवटै कुरालाई थेग्ने कुरा उहाँले सरल ढंगले फेस गरिरहनु भएको थियो । गाह्रो थियो भन्ने कुरा चाहिँ उहाँमा हाँसो थिएन । पछिल्लो पटक प्रकाशको अस्वभाविक मृत्युपछि उहाँमा अर्कै प्रकारको आघात पुग्यो । त्यो आघात चाहिँ त्यतिबेलामात्रै पुगेको होइन कि अगाडिबाटै आघातकै क्रममा थियो । त्यो उत्कर्षमा पुगेकोमात्रै हो । त्यसलाई रोग भन्नुभन्दा पनि एउटा गहिरो आघात, जुन आघातले उहाँलाई छोड्दैछोडेन ।

तपाईँसँग भेट्दाखेरी के कुरा गर्नुहुन्थ्यो सीता दाहाल ?

म सीता दाहालसँग त्यो अन्तर्यको कुरा गर्ने हैसियतको मान्छे होईन उमेरको हिसाबले । राजीनिक हिसाबले थियो, म केन्द्रीय कमिटी सदस्य, उहाँ सल्लाहकार । तर, व्यवहारिक कुरा गर्न त समकक्षी, साथी मिल्नुपर्छ नि त । सीता दाहालसँग संगत गरेर आउनु भएका महिला नेतृहरुले पनि भन्नुहुन्छ, उहाँले जटिल–जटिल समस्या पनि असाध्यै सरल ढंगले हल गर्ने कोशिस गर्नुहुनथ्यो । सारा आन्दोलनको जिम्मेवारी बोध थियो उहाँमा । मैले भेट्दा काम विशेषले भेट्थेँ । उमेरको हिसाबले हामी त उहाँको छोरी हो नि त । मैले त्यो खाल्को अपेक्षा गर्नु पनि हुन्थेन । म पनि आघातको चक्र पार गर्दै आएको पात्रको हिसाबले अनुभूति गर्न चाहिँ सक्थेँ ।

सीता दाहाललाई भेट्दाखेरी कस्तो अनुभूति गर्नुभयो तपाईँले ?

मैले सुरुमा एक शब्दमा भने नि उहाँमा आँसु दबेको थियो । धेरै ठूला–ठूला जिम्मेवारीले थिचेको थियो उहाँलाई ।

त्यस्तो ठूलो जिम्मेवारी के थियो सीता दाहाललाई ?

उहाँको श्रीमान जतिबेला कम्युनिष्ट आन्दोलनमा लाग्नुभयो । स्वभाविक रुपमा देख्न सकिन्छ, गाउँको सामन्य साक्षर महिला, चार–चारवटा बच्चा । अहिले पनि साथीको हिसाबले मलाई रेणुले चाहिँ भन्नुहुन्छ । कुनै बाबुआमाले चाहँदैन छोराछोरी सँगै नराखौं । छोराछोरीले दुःख पाउन् भनेर यो संसारमा कुनै पनि बाबुआमाले चाहँदैन । त्यो एउटा बाध्यता । भूमिगत हुनुभयो, देशभरीबाट दिनदिनैका घटनाहरु जहाँ मार्ने, मर्ने, दुःख पाउने । उहाँलाई के अनुभूति हुनथाल्यो कोला म अनुमान गर्छु, यिनीहरु नि मेरै छोराछोरी हुन, अथवा मेरै साथी थिए, मेरै संगी थिए । कोही मरे, कोही के भए भनेपछि त्यसले छोयो उहाँलाई । सुरक्षाको जिम्मेवारी थियो । श्रीमानमात्रै नभएर यत्रो आन्दोलन हाँकिराखेको, राज्यलाई च्यालेन्ज गरिराखेको पात्रको सुरक्षा कसरी गर्ने भन्ने थियो होला । त्यसमा फेरि अन्तरसंघर्षका पाटाहरु पनि जोडिन्थे ।

पार्टीमा अन्तरसंघर्ष हुँदा प्रचण्ड र बाबुरामबीच जब द्वन्द्व हुन्थ्यो नि त्यतिखेर सीता दाहालले मध्यस्थता गर्नुहुन्थ्यो रे । त्यो कुरा मलाई प्रचण्ड र बाबुराम दुवैले अन्तरवार्ताको क्रममा भन्नुभएको छ । महिलाले चाह्यो भने पुरुषलाई सफल बनाउन सक्छ ?

महिलाले चाहेभने पुरुषलाई सफल बनाउन सक्छन्, सक्दैनन् भन्नु भन्दा पनि हामीले महिला आन्दोलनसँग दाँजेर हुँदा एउटा सफल महिलालाई सफल पुरुषसँदा दाँजेर हेर्ने पितृसत्तात्मक संस्कृति तपाईसँग, मसँग अहिले पनि छ । त्यसको बिम्ब छ नै । स्वतन्त्र महिला होइन रहेछ, श्रीमानको कारणले, अरुको कारणले भन्छन् । तर, मैले अहिले भन्नसक्छु, प्रचण्डलाई एउटामात्रै चिन्ता थियो,– देश, आन्दोलन र पार्टी । त्यतिबेला सीता दाहाललाई त्योसँगै छोराछोरीको पनि चिन्ता थियो । देख्दाखेरी मान्छेलाई छोराको पीरले भन्नेमात्रै भयो । त्यो आघात त्यहाँबाटमात्रै थिएन । अगाडिबाटै थियो । उहाँले हाँस्नु भयो ? मैले त देखिन । सहजस्थितिमा त थोरै समय बाँच्नुभयो उहाँ । लामो समयसम्म जोखिमै जोखिम र संघर्षमा बाँच्नुभयो ।

सफल नारीको पछाडि पुरुषको हात त हुन्छ नि हैन ?

दुवै कुरा हुन्छ । सफल नारीको पछाडि एउटा असल पुरुषको हात हुन्छ । सफल पुरुषको साथमा असल महिलाको हात हुन्छ । यो अन्तरसम्बन्धित कुरा हो । यो प्राकृतिक कुरा हो । कसैले बनाएर हुने कुरा होइन । स्वभाविक रुपमा कमरेड प्रचण्डसँग म चर्को कुरा गर्छु, बेस्सरी रिसाएर आउँछु भनेर कस्सिएर जाँदाखेरी नि त्यहाँ पुग्दा प्रकाशको याद आउँछ । यो मान्छे प्रकाशको बाबु पनि त हो भन्ने लाग्छ । मैले मेरो दुई वटा दाईहरुको आघात सम्झन्छु, ढलिरहेकी त्यो आमाको श्रीमान पनि त हो भन्ने आएपछि गालीको ठाउँमा आँशु आउँछ । मैले काहिल्यै पनि त्यो ढंगले कुरा गर्न सक्दिन ।

प्रचण्डले सीता दाहालको लागि यो पाँच छ वर्षको बीचमा धेरै काम गर्नुभयो । व्यापक रुपमा सहयोग पनि गर्नुभयो । श्रीमतीलाई पनि उहाँले त्यत्तिकै समय दिएर सहयोग गर्नुभयो । त्यो कुरा मान्नुहुन्छ नि ?

जो पायो उही, वास्ता नगर्ने पुरुष भएको भए त हामीलाई पनि त्यहीखाले अनुभूति हुन्थ्यो होला । सबै कुराको जिम्मेवारी लिनसक्ने, लिने । कयौं चोटी हामीले देखेका छौं, तल मिटिङ हुन्थ्यो । आमा (सीता) ले बोलाएपछि के भयो भनेर उहाँले नै कान थाप्नुहुन्थ्यो । जब प्रकाशको निधन पछाडि त धेरै ठूलो चुनौति पार गररेर आउनु भएको हो ।

अब प्रचण्डको लागि यात्रा कति चुनौतिपूर्ण हुनसक्छ ?

मान्छेको जिन्दगी दुई खाल्को हुन्छ । कतिले चुनौतिलाई अवसरमा बदल्ने गर्छन् भने कतिलाई त्यही चुनौतिले थला पनि राख्छ । प्रचण्ड भन्ने मान्छे चुनौतिसँग गल्ने, हार्ने मान्छे होइन । पारिवारिक यात्रामा असजिलो त हुन्छ नै । त्यो स्वभाविक रुपमा हुन्छ हामीले अनुभूति गर्नसक्छौं । राजनीतिक रुपमा साथ दिने लाखौं नेपाली छन् । उहाँले पनि यसरी नै बुझ्नुहुन्छ र अगाडि बढ्नुहुन्छ भन्ने लाग्छ ।

धेरै मान्छेहरु शक्तिमा पुग्नका लागि होडबाजी गर्छन् । कसरी आर्थिक रुपमा सक्षम बन्ने ? कसरी पैसा कमाउने ? नारीको लागि त्यहीमात्रै ठूलो कुरा हो ?

होईन । आफैं संघर्ष गर्ने महिलाले भूमिका पनि खोज्नुपर्छ । पावर भन्नुको मतलब भूमिका खोज्नुपर्छ । म सहायक भूमिकामा छु भन्ने लाग्छ र आफूलाई त्यसैमा खुसी लाग्छ भने सीता दाहालबाट सिक्दा हुन्छ ।

हामी कहाँ श्रीमान प्रधानमन्त्री हुँदा श्रीमतिले शक्ति दुरुपयोग गरेको कुरा त धेरै पटक बाहिर आयो नि । सीता दाहालले त्यसो कहिल्यै गर्नुभएन ?

मैले अघि भनेकै कुरा काफी छ । एक दुई जना माहिला नेताहरु हुनुहुन्छ हाम्रो पार्टीको । अरु पनि धेरै नेता हुनुहुन्छ वामपन्थी पार्टीको । एमालेभित्र पनि सफल नेताको पछाडि असल नारीहरुले सहयोग गरेको पाउँछु । हाम्रो पूर्व सभामुख अग्नि सापकोटाको श्रीमती मैले पनि आमा नै भन्छु, उहाँ आमा पनि अर्को असल पात्र हुनुहुन्छ । उहाँहरुबाट सिक्दा हुन्छ । जिउँदैबाट सिक्ने हो भने अग्नि सापकोटाको श्रीमतीबाट सिक्दा हुन्छ । जो श्रीमानलाई नेता बनाएर आफू बाहिर बसेर श्रीमान सफल बनेको हेर्न चाहनुभयो । मान्छेले कि संघर्षको उपाधि पाउँछ कि सम्मानको उपाधि पाउँछ । कहिल्यै पनि संघर्षमा सम्मान हुँदैन । संघर्ष भनेको प्रतिस्पर्धा हो । सम्मान खोज्ने हो भने त्यही खाल्को भूमिकामा हुनुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्