Logo

‘नार्क हो कि नर्क’ छुट्याउनै गा-हो



काठमाडौं, असार २९ । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा काम विशेषले पुग्ने जोकोहीले पनि ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ ।

ललितपुरको खुमलटारस्थित नार्क कृषिका वैज्ञानिक एवं कर्मचारी बसेर काम गर्ने कार्यालय हो । तर, कार्यालयभित्रै जताततै फोहोरै फोहोर एवं जथाभावीको पार्किङले कार्यालय ‘डम्पिङ’साइटजस्तै देखिन्छ । करिब अढाइ सय बढी क्षेत्रफलमा विभिन्न कार्यालय रहेका छन् । कृषिसम्बन्धी विभिन्न विषयगत कार्यालयदेखि लिएर खाद्यान्य उत्पादन एवं अनुसन्धान हुने गरेको सोही क्षेत्रमा नार्कको साढे तीनतले भवन छ ।

सो भवनमा हाकिमपिच्छेका छुटाछुटै किचेन छ । जतिखेर नि केही न केही पाकिरहेको हुन्छ । कार्यालयको प्रत्येक तल्लामा हाकिमपिच्छे १५ भन्दा बढी किचेन रुम छन् । ‘नार्कमा २० बढी कृषिका वैज्ञानिकका साथै ७० जना बढी कर्मचारी कार्यरत छन् । तर हाकिमपिच्छेका ती किचेनमा जतिखेर नि कुकरको सिटी लागिरहेको हुन्छ । मिठो खाने बानी परेर हो कि किन हो त्यो त थाहा छैन । मिठो खानलाई त ठीक छ तर काम गर्नलाई ठीक छैन,’ कोठैपिच्छे रहेका किचन रुमबाट पीडित एक कर्मचारीले भने । तर, डम्पिङ साइटजस्तै भएको नार्कमा नयाँ नेतृत्व आएपछि व्यवस्थित बनाउने काम भइरहेको छ ।

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले कर्मचारीबाट विभिन्न किसिमका गुनासो आएको र त्यसलाई सुधार गर्ने काम आफूले गरिरहेको बताए । आफू एक महिनाअघि कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि नार्कलाई वास्तविक वैज्ञानिकको संस्थाका रूपमा रूपान्तरण गर्ने काम तीव्र गतिमा गरिरहेको उनले बताए ।

‘तल्लैपिच्छे किचेनै किचेन, प्रत्येकलाई छुटाछुटै किचेनको आवश्यकत्ता छैन् । बसेर गफ गर्ने, खुरापाती गर्ने थलो भएको गुनासो आएपछि मैले सबै हटाउने निर्णय गरिसकेको छु । अब ती सबै किचेन बन्द हुन्छन्,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘व्यवस्थित खाजा घर, अन्तर्राष्ट्रियस्तरको बगैंचा, एवं पार्किङको काम मेरो प्राथमिकतामा रहेको छ । केही समयमै नार्कमा व्यापक सुधार भएको देखिन्छ ।’ उनले भने ।

नार्कमा कार्यरत वैज्ञानिक एवं कर्मचारी सुविधा सम्पन्न बैठक कक्ष, सबै अनुसन्धान केन्द्रहरूबाट प्रविधि विकास एवं किसानलाई दिँदै आएका सुविधा चुस्तदुरुस्त, गुणस्तरीय, छिटोछरितो हुनेगरी व्यवस्थित बनाउने कार्यमा आफू लागेको भट्टराईले बताए ।

कार्यालयभित्रै फोहोरै फोहरका साथै पार्किङदेखि अन्य समस्याले कार्यालय अव्यवस्थित देखिन्छ । कार्यालय कार्यालयजस्तो बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । नयाँ नेतृत्व आएपछि युवा वैज्ञानिक उत्साहित देखिन्छन् । भट्टराईको कडा निर्देशन एवं कामको गति देखेर कार्यालयमा सकारात्मक परितर्वनका साथै कार्मचारी जिम्मेवार बन्नेमा विश्वास लागेको एक कर्मचारीले बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्