काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो मुलुकको नेताहरुको पनि नेता भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स संवाद कार्यक्रममा पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै उनले प्रचण्डको विकल्प माओवादीभित्र अहिले नरहेको बताए ।
साथै, उनले विप्लवलाई पार्टीमा ल्याएर जनार्दन र वर्षमानलाई साईजमा राख्न खोजेको कुरामा कुनै सत्यता नरहेको बताए । प्रचण्डले तीनै जना नेतामा क्षमता देखेर सिनियर नेतालाई पनि पछि राखी उनीहरुलाई अगाडि बढाएको उनको दाबी छ ।
‘नेत्रविक्रम चन्द ‘विप्लव’, जनार्दन शर्मा र वर्षमान पुन तीनै जना आ–आफ्नो साईज भएको नेताहरु हुन् । उहाँहरुको साईज कसैले घटाइदिने, कसैले बढाईदिने हुँदैन । एउटाको साईज घटाउन वा बढाउन अर्कोलाई प्रयोग गर्ने भन्ने नै भ्रम हो । यो भ्रमबाट मुक्त हुन आवश्यक छ,’– उनले भने ।
एउटाको साईज घटाउन अर्कोको प्रयोग गर्ने नभएर ईतिहासको आवश्यकताले जो अब्बल बनेर जान्छ त्यो नै नेताहरुको पनि नेता बन्ने उनको दाबी छ । ‘नेताहरुबीचबाट नेता बन्ने कुरा त एउटामात्रै हो नि । यो मुलुकको नेताहरुको पनि नेता कमरेड प्रचण्ड भएजस्तै माओवादी आन्दोलनले जन्माएको थुप्रै नेताहरुको पनि नेता को बन्छ त्यो ईतिहासले बताउला,’– उनले भने ।