Logo

कम हुँदै जनगणनाको त्रुटि



काठमाडौं, असार ३१ । राष्ट्रिय जनगणना २०४८ देखि २०७८ सम्म आइपुग्दा जनगणनाको त्रुटि क्रमिक रूपमा कम हुँदै गएको छ । राष्ट्रिय जनगणनाको त्रुटि पत्ता लगाउन गरिने जनगणना जाँच परीक्षणका नतिजा अनुसार क्रमिक रूपमा त्रुटि कम हुँदै गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको हो ।

कार्यालयले केही दिनअघि सार्वजनिक गरेको गणना जाँच सर्वेक्षणको प्रतिवेदनमा अनुसार २०४८ सालमा गरिएको जनगणनामा कुल जनसङ्ख्याको ११ प्रतिशत जनसङ्ख्याको जनगणना गर्न छुटेको, २०५८ सालमा पाँच, २०६८ सालमा ३।६ र २०७८ सालमा आइपुग्दा सो प्रतिशत घटेर २।७३ प्रतिशतमा झरेको कार्यालयले जनाएको छ ।

कार्यालयले गत चैतमा सार्वजनिक गरेको नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ थियो । उक्त जनसङ्ख्यामा अहिले सात लाख ७१ हजार ९९८ जनसङ्ख्या गणना गर्न छुट भएको देखिएको छ ।

कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको प्रभावकारी जाँच गर्न प्रत्येक वर्ष राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक भएको केही महिनाभित्र जनगणनाको जाँच परीक्षण गर्ने गरिएको बताए। उनले विगतमा चार पटक भएको जनगणनाको नतिजालाई आधार मान्दा नेपालमा जनगणनाको त्रुटि हुने क्रम क्रमिक रूपमा कम हुँदै गएको प्रस्ट भएको बताए।

सर्वेक्षणबाट पत्ता लागेको छुट जनसङ्ख्यालाई यसअघि सार्वजनिक गरिएको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मा नजोडिने कार्यालयले स्पष्ट गरेको छ । उनले भने, “जनगणनापछिको प्रक्रिया मात्र पूरा गरिएको तर यो सङ्ख्या कुल जनसङ्ख्यामा जोडिँदैन ।” यसअगाडिको जनगणनापछि गरिने जनगणना जाँच परीक्षणका नतिजालाई पनि कुल जनगणनामा जोडिने गरिएको थिएन ।

जनगणना जाँच परीक्षणका गर्दा जनगणना गर्न छुटेको प्रतिशत २.५९ र दोहोरो गणनामा परेको ०.१४ प्रतिशत भएको पाइएको छ । जनगणना जाँच परीक्षणको त्रिभुवन विश्वविद्यालयलाई जिम्मेवारी दिएको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot