काठमाडौं, ३१ असार । नेपाल चलचित्र कलाकार संघले अभिनेता सारूक ताम्राकारको निधनको विषयमा छानबिनको माग गरेको छ। संघका अध्यक्ष मोहन निरौलाले आज एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन् ।
संघले भनेको छ–‘स्व. शारूक निधन हुनुभन्दा अघिल्लो दिनसम्म ह्यास्ट्याग माया चलचित्रमा अभिनय गरिरहनुभएको थियो । स्व. शारुक सिंगो चलचित्र क्षेत्रमै कामप्रति लगनशील, सालिन र भद्र अभिनेताको रुपमा परिचित हुनुहुन्थ्यो । स्व. शारुकको निधनलाई लिएर चलचित्र उद्योगका सबै पेशाकर्मीहरु शसंकित भइरहेको र यो घटनाको न्यायिक छानबिन हुनुपर्दछ भन्ने आवाज उठिरहेकोले सो विषयमा गहिरो छानबिन गरी सत्य तथ्यलाई प्रकाशमा ल्याईदिनका लागि संघ सम्बन्धित निकायसँग माग गर्दछ ।’
संघले शारुक नेपाल चलचित्र कलाकार संघका सदस्यसमेत रहेको उल्लेख गर्दै शारुकले अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले चलचित्रको छायाँकनको क्रममा भएका घट्ना र सन्दर्भहरु विभिन्न अनलाईनमार्फत अभिव्यक्ति गरेको सो सम्बन्धमा छानबिन गर्ने निकायले अनुसन्धान गरी कोही दोषी देखिए सत्य तथा तथ्य उजागर गरी कानूनको दायरामा ल्याई कडाभन्दा कडा कानूनी कारबाही गर्न जोडदार माग गरेको छ ।