Logo

स्थानीय तहमा निमित्तवाद निमिट्यान्न पार्छु : मन्त्री मोदी



काठमाडौं, १ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफू ‘स्टन्ट’ मा भन्दा काममा केन्द्रित भएको बताएका छन् ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि म संघीय निजामती ऐन लगायत कानुनमा देखिएका समस्या सल्टाउने र सुशासनका लागि फोकस भएँ । धेरै काम गरे पनि प्रचार भएन भने कामै गरेन, जिम्मेवार नै भएन भन्न थाल्दा रहेछन् । म स्टन्टबाजी गर्ने मान्छे होइन, प्रचारबाजीमा विश्वास गर्दिनँ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’ का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
उनले स्थानीय तहमा निमित्तवादको अन्त्य गर्न आफू लागिरहेको बताए । उनले भने, ‘म आउँदा २५० पालिका निमित्त प्रमुखबाट चलाइएको थियो । त्यसले सुशासनमा समस्या देखियो । अहिले हामीले त्यसलाई १४२ मा झारेका छौं । साउन १ बाट सुशासनका कायम गर्न निमित्तवाद निमिट्यान्न पार्ने नयाँ मोडलमा जाँदै छु ।’ कतिपय पालिकामा कार्यकारी प्रमुख पठाउँदा हामीलाई नसोधीकन किन पठाएको भन्दै हाजिर नगराउने प्रवृत्ति देखाएको पनि उनले बताए ।
स्थानीय तहले राम्रो काम गरेको र राम्रो कामका निम्ति मन्त्रालयले सहजीकरण पनि गरेको मन्त्री मोदीले औंल्याए । उनले भने, ‘स्थानीय तह आफैं सरकार हो । यसमा राम्रा पनि छन्, सबै खराब छैनन् । वैदेशिक भगिनी सम्बन्ध जोड्न र सहयोग लिन सहजीकरण गरेका छौं । तर विदेश जाने कुरामा नियन्त्रण गरेका छौं । खराब काम गर्नेलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस पनि गरेका छौं ।’
साथै मन्त्री मोदीले २० प्रतिशत कर्मचारीमा मात्र इमानदार भएर खटिएको ठाउँमा जाने प्रवृत्ति देखिएको बताए । उनले भने, ‘८० प्रतिशत कर्मचारी विभिन्न राजनीतिक दलको सोर्सफोर्समा सुगम र राम्रो ठाउँ रोज्ने अनि २० प्रतिशत कर्मचारी मात्र इमानदार भएर खटिएको ठाउँमा जाँदा रहेछन् । त्यो अब सर्वस्वीकार्य छैन । साउन ७ पछि हामी काम सम्पादनमा आधारित भएर सरुवा प्रणाली व्यवस्थित गर्दैछौं ।’
कर्मचारीको सरुवामा मन्त्रीको कुनै भूमिका नभएको पनि मन्त्री मोदीले औंल्याए । उनले भने, ‘कानुनतः सचिव र सहसचिव मन्त्रिपरिषद्ले, उपसचिव सचिवले सरुवा गर्छन् । यस्ता सरुवामा मन्त्रीको कुनै रोल छैन । कारबाही दण्ड र पुरस्कारमा पनि रोल छैन । मन्त्रीले कर्मचारी हटाउने कानुन पनि छैन ।’



प्रतिक्रिया दिनुहोस्