Logo

नागढुङ्गा–सिस्नेखोला सुरुङ खन्ने काम अन्तिम चरणमा



धादिङ, साउन ३ । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ।

आयोजनाका इन्जिनियर रमेश कोइरालाले मुलुकका अन्य आयोजनाका तुलनामा यस सुरुङ मार्गको काम तीव्र गतिमा भइरहेको बताउँदै मुख्य र सहायक सुरुङ खन्ने काम क्रमशः असोज र साउनभित्र सम्पन्न हुने जानकारी दिए। उनका अनुसार आयोजनाको समग्र भौतिक र आर्थिक प्रगति क्रमशः ७५ र ६१ प्रतिशत छ।

सुरुङ मार्ग सञ्चालनयोग्य बनाउन भने करिब एक वर्ष लाग्ने छ। सुरुङभित्र आवश्यक प्रकाश, हावा, सिसिटिभी, नियन्त्रण प्रणाली, फायर हाइड्रेन्ट, आगो नियन्त्रण प्रणाली, टेलिफोन जडान गर्नुका साथै भित्ताको प्लास्टर, रङ्गरोगन, भुइँको कालोपत्रेलगायतका काम गर्न एक वर्ष लाग्ने इन्जिनियर कोइरालाले बताए।

यस अनुसार आयोजनाको म्याद फेरि थप्नुपर्ने हुन्छ। आयोजनाको अवधि २०८० वैशाखसम्म रहेकोमा २०८१ वैशाखसम्म थपिएको छ। थपिएको म्याद अनुसार अब दस महिना निर्माण अवधि बाँकी छ। तर सुरुङ खन्ने काम सकिएको एक वर्षपछि मात्र सञ्चालनमा आउन सक्ने भएकाले आयोजनाको म्याद फेरि थप्नुपर्ने अवस्था आउन लागेको हो।

२०७६ मङ्सिरदेखि यस आयोजना निर्माण अवधि ४२ महिना तोकिएको थियो। २०७६ कात्तिकमा सो सुरुङ मार्ग शिलान्यास गरिएको थियो। सुरुङ खनिसकेपछि त्यहाँ ३० सेन्टिमिटर बाक्लो ढलान गर्नु पर्छ। अन्य सडकमा गरिने कालोपत्रेभन्दा यो निकै बाक्लो भएको उनले बताए। अन्य सडकजस्तो सुरुङ मार्ग बारम्बार बनाइरहन नसकिने भएकाले बिचमा कुनै समस्या नआओस् भनेर बाक्लो गरी ढलान गर्नु पर्छ।

उनका अनुसार मुख्य र सहायक सुरुङ मार्ग खन्ने काम क्रमशः ८०।८ प्रतिशत र ९८।३ प्रतिशत सम्पन्न भएको छ। मुख्य सुरुङ दुई हजार ६८८ मिटरमध्ये दुई हजार १७२।८ मिटर र सहायक सुरुङ दुई हजार ५५७ मध्ये दुई हजार ५१२।८० मिटर खन्ने काम सम्पन्न भइसकेको छ।

त्यसै गरी मुख्य र सहायक सुरुङ जोड्न निर्माणाधीन सात वटा ‘क्रस प्यासेज’ को कुल लम्बाइ १२८ मिटरमध्ये अब १२ मिटर मात्र खन्न बाँकी छ। आयोजनाको कुल सुरुङ पाँच हजार ४९९ मिटरमध्ये अहिलेसम्म चार हजार ९२७।५५ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्