काठमाडौं, ५ साउन । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले राजनीतिक संरक्षणमै सुन तस्करी भइरहेको बताएका छन् ।
‘पहिलेको ३३ किलो सुन छानबिन समितिको प्रतिवेदन नै सार्वजनिक गरिएन । दुई-दुईपटक एयरपोर्ट ठेक्कामा दिइयो । सुन तस्करीको अनुसन्धानमा प्रहरीलाई संलग्न गराइएको छैन । अस्ति भरखर एयरपोर्टमा बरामद भएको नौ किलोग्राम सुनमा एउटा शक्तिशाली पार्टीका नेता बाबुछोराको नाम मुछियो । त्यसैले सुन तस्करीमा कहीं न कहीं राजनीतिक संलग्नता छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पूर्व डीआईजी मल्लले एक क्विन्टल सुन बरामद भएको घटनालाई ठूलो घटना मान्ने हो भने अनुसन्धानमा नेपाल प्रहरीको सहयोग लिनैपर्ने औंल्याए । उनले थपे, ‘अपराधका विभिन्न तह हुन्छन् । लागुऔषध, सुनमा एउटा तहबारे अर्को तहलाई थाहै हुँदैन । यसको अनुसन्धानमा प्रहरीलाई सहभागी नगराए जति समातिए, समातिए, त्योभन्दा माथि पक्राउ पर्दै पर्दैनन् ।’
हङकङ (चीन), भारतलगायत मुलुकमा सुन तस्करीको बहुदेशीय जालोको अनुसन्धान जरुरी भएको पनि उनले औंल्याए । उनले भने, ‘हङकङ सुनको ठूलो मन्डी हो । चीनसँग हाम्रो ल्यान्ड रुट खुला छ । उडेर आएर हिँडेर वा गुडेर आइहाल्छ । अहिले लागुऔषधदेखि विदेशी मुद्रा बोकेर समातिने चाइनिज छन् । चाइनिज प्रहरी जहाजमा आएर अपराधी बोकेर गएका उदाहरण छन् ।’
सरकारको ध्यान कुर्सी र कार्पेटमा फर्नेमा भए पनि सुरक्षामा नभएको आरोप पनि उनले लगाए । मल्लले थपे, ‘सुन तस्करी कम गर्न सरकार नै सिरियस देखिँदैन । नियन्त्रणका उपाय गर्ने हो भने कमी गर्न सकिन्छ । सेटिङमात्र होइन, थोत्रा एक्सरे मेसिन छन् । महँगो ठाउँबाट सुन आउँदा शंका गर्नुपर्दैन ? यसमा भन्सार, प्रहरीको मिलेमतो छ ।’
यस्तो बेवास्ताले नेपालमा सुन तस्करी कहिले पनि नरोकिने पनि पूर्व डीआईजी मल्लको जिकिर छ । उनले भने, ‘नेपालमा प्रतिदिन सुनको माग ३५ देखि ४० किलोग्राम छ । तर सुन आयात र मागको बीचमा २० किलो फरक हुन्छ । सालको सवा ७ टनजति सुन चाहिन्छ । त्यो नभएपछि विभिन्न माध्यमबाट आउँछन् । भारतमा पनि माग र आपूर्तिबीच धेरै टन ग्याप छ । त्यो पूर्ति गर्न नेपाल, बंगलादेशको बाटो भएर सुन जान्छ । कहिले हिँडेर आउँछ, कहिले गुडेर आउँछ, कहिले उडेर आउँछ । तर आउन रोकिँदैन ।’ यस्ता सुनकाण्ड पटकपटक भइरहने सुन आउने र लुकाउने तरिका पनि बदलिरहने पनि उनले औंल्याए ।