काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा छलफल गर्न आइतबार विहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाएको छ। सरकारले आर्थिक वर्ष २०८०/८१ का निम्ति बजेट सार्वजनिक गरेको करिब डेढ महिनापछि मौद्रिक नीति आउन लागेको हो ।
राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ । सरकारको बजेट घाटा उच्च रहेको, पुँजीगत खर्च वृद्धि हुन नसके पनि निर्माण सम्पन्न आयोजनाहरूको भुक्तानी हुन नसकेको तथा राजस्व संकलन न्यून रहेको देशको आर्थिक पृष्ठभूमिमा केन्द्रीय बैंकको मौद्रिक नीतिलाई निजी क्षेत्रले सुक्ष्म ढंगबाट हेरेको छ ।
विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले भने निक्षेप गणनामा राष्ट्र बैंकले खुकुलो नीति ल्याउनुपर्ने अपेक्षा गरेका छन् । पुँजीग खर्च न्यून हुँदा स्थानीय तहको बजेटलाई बैंकहरूले निक्षेप गणना गर्ने विषयमा केन्द्रीय बैंक लचिलो हुनुपर्ने माग उनीहरुको छ ।
उता पुँजी बजार, घरजग्गा र अटो मोबाइल क्षेत्रमा केन्द्रीय बैंक उद्दार हुनुपर्ने माग लगानीकर्ताले उठाउँदै आएका छ । त्यस्तै मूल्यवृद्धि र आर्थिक वृद्धिसम्बन्धी चालू आर्थिक वर्षको बजेटले लिएका लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउनुपर्ने राष्ट्र बैंकलाई सरकारको सुझाव छ ।
हाल बैंक तथा वित्तीय प्रणालीमा रहेको वैदेशिक मुद्राको सञ्चितिलाई जोगाउनुपर्ने दायित्व पनि राष्ट्र बैंकसँग रहेको छ । गत आर्थिक वर्षमा वैदेशिक मुद्राको सञ्चिति अर्थतन्त्र दबाबमा परेको थियो । यसअघि प्रतिनिधिसभाको अर्थ समितिले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिदर हासिल गर्न आवश्यक पर्ने लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएको थियो ।
त्यस्तै शैक्षिक प्रमाणपत्र धितोमा दिइने कर्जा, स्टार्टअप व्यवसायलाई दिइने कर्जालगायतका उद्यमी लक्षित कर्जासम्बन्धी व्यवस्थाको कार्यान्वयन प्रभावकारी बनाउन पनि समितिको सुझाव छ । पुँजीलाई चलायमान गर्न, सरकारी खर्च धान्ने गरी राजस्व परिचालन हुने व्यवस्था मिलाउन र व्यवसायीलाई सहज बनाउने गरी नीतिगत प्रबन्ध गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ । नेपाल समाचारपत्र दैनिकबाट