काठमाडौं, ८ साउन । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो पालिका उपमहानगरपालिकामा घटुवा हुने अवस्था नरहेको दाबी गरेका छन् ।
‘मैले कार्यभार सम्हाल्दा विराटनगर महानगरपालिकाको वार्षिक राजस्व ४९ करोड थियो भने अहिले ६८ करोड उठेको छ । ६ महिना पहिले मात्र अभियान सुरु गरेकाले अलि कम उठ्यो । चारपाचवटा वडामा मात्र गयौं । १९ वडामा जान सकेको भए एक अर्ब उठ्थ्यो होला । वार्षिक एक अर्ब राजस्व उठाउनुपर्ने महानगरपालिकाको मापदण्ड हामी यसपालि पूरा गर्छौं । विराटनगर उपमहानगरमा घटुवा हुँदैन, महामहानगरपालिका भएर जान्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’ का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
मेयर कोइरालाले खुला सीमाका कारण विराटनगरको अर्थतन्त्र कमजोर रहेको स्वीकार गरे । उनले भने, ‘हाम्रो बोर्डर खुला छ । भारतीय बजार नेपालभन्दा सस्तो भएकाले प्रायः त्यतै जान्छन् । विराटनगरमा खासै व्यापार नभएकाले राजस्व पनि कम उठ्छ । हामी त्यसमा सुधार गरिरहेका छौं ।’ स्थानीय सरकार संस्थागत क्षमता स्वयं मूल्यांकन (लिजा) मा सुधार भइरहेको पनि उनले बताए ।
तपाईंले सूर्तीजन्य पदार्थ विक्रीवितरण बन्द त गर्नुभयो तर बजारमा छ्यापछ्याप्ती पाइन्छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘हो, विराटनगरले सूर्तीजन्य पदार्थ विक्रीवितरण बन्द गर् यो । तर उत्तर, दक्षिण, पूर्व, पश्चिममा खुला भएकाले त्यस्तो देखिएको होला । हामी निरन्तर अनुगमन गरिरहेका छौं । कसैले गुट्खा, खैनी, रजनीगन्धा, तुलसी बेचेको थाहा पाए दोकान सिल गर्छौं ।’
सीमित स्रोत, साधन र सामथ्र्यका बाबजुद विराटनगरको विकास नरोकिएको उनले बताए । कोइरालाले भने, ‘हाम्रो स्रोत साधन सीमित छ । सरकारले बजेट कटौती गरेको छ । यसका बाबजुद पनि हामीले विराट राजाको दरबारलाई सिँगारेका छौं । संग्रहालय खोलेका छौं । रानीपोखरीलाई व्यवस्थित गरेका छौं । नाला सरसफाइका कारण डुबान समस्या घटेको छ । अव्यवस्थित तारलाई व्यवस्थित गरेका छौं । सामुदायिक विद्यालयमा विद्यार्थी बढेका छन् । पूर्वप्रधानमन्त्रीहरुको पार्क बनाउँदै छौं । तराईको पूर्वी ठाउँ उज्यालो विराटनगरलाई हामी राम्रो पर्यटकीय गन्तव्य बनाउँदै छौं ।’ आफूले खुरुखुरु काम मात्र गरेकाले प्रचार प्रसार नभएको पनि कोइरालाले बताए ।