Logo

चिनियाँ नेता नेपालमा हुँदा नेपालका ठूला कम्युनिष्ट दलका नेताहरु देश बाहिर



काठमाडौं, ८ साउन । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को टोली काठमाडौंमा छ । हिजो नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको टोली हिजैदेखि राजनीतिक भेटवार्तामा सक्रिय भएको छ ।

उक्त भ्रमण टोलीको नेतृत्व भने चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युयान च्याच्युनले गरेका छन् । सो टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग उनले भर्चुअल सम्वाद गरेका थिए । प्रधानमन्त्री दाहाल यतिवेला इटालीको भ्रमणमा छन् । च्याच्युनको टोलीले आज नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम छ ।

च्याच्युनको टोली काठमाडौंमा हुँदा नेपालका ठूला कम्युनिष्ट दलहरु एमाले र माओवादी केन्द्र दुवै दलका अध्यक्षहरु भने देश बाहिर छन् । एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडियामा छन् । प्रधानमन्त्री दाहाल इटालीमा छन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल हिजै राति इण्डोनेसिया प्रस्थान गरेका छन् । एमाले अध्यक्ष ओली भने आजै साँझ काठमाडौं आईपुग्ने कार्यक्रम छ । उनीसँग चिनियाँ टोलीले भोलि (मंगलबार) विहान १० बजे भेट्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्