Logo

मलाई माओवादी, कांग्रेस, एमाले कसैको मतलब छैन, भ्रष्टाचारीमाथि कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ



काठमाडौं, ८ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सन्दर्भमा निष्पक्ष छानविन हुने बताएका छन् । आज (सोमबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसको अवसरमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्ड हीनता’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार प्रकरणमा दोषी कोही नउम्किने र निर्दोष नफस्ने बताए । भ्रष्टाचारको छानविनमा आफूलाई पार्टीसँग कुनै सरोकार नरहेको उनले बताए । भ्रष्टाचारी प्रमाणित भए माओवादी, एमाले, कांग्रेस, जसपा लगायतका कोही मान्छेले पनि उन्मुक्ति नपाउने उनले बताए ।

‘अहिले कतिपयलाई के लागेको छ भने त्यो हो नि त्यहाँसम्म पुग्नुपर्ने खोई भन्ने छ । कोहीलाई तान्न पर्नेलाई तानेन भन्ने छ । त्यसको प्रमाण नभई राज्यले केही गर्न सक्दैन । तथ्य प्रमाणले भेटेसम्म कारबाही हुन्छ । माओवादी, कांग्रेस, एमाले जो होस्, मलाई कसैको मतलब छैन । दोषी सबैलाई कारबाही हुन्छ,’– उनले भने ।

आजको आवश्यकता राजनीतिलाई सफा बनाएर सुशासन स्थापित गर्नु भएको उनले बताए । सुशासनबाट नै समृद्धि हासिल गर्न सकिने उनले बताए । आफू सबैका लागि कानुन बराबरी लागू गराएर रुल अफ ल स्थापित गराउन खोजेको उनले बताए ।

अहिलेसम्मका भ्रष्टाचार प्रकरणको छानविन स्वच्छ र निष्पक्ष ढंगले अगाडि बढाइएको उनले बताए । भ्रष्चार छानविनमा राजनीति क्षेत्रका नेताहरु दोषी देखिए भनेर राजनीतिक दलका नेताले कराउने गरेको, कर्मचारी दोषी देखिए कर्मचारी संगठनहरु र व्यापारी दोषी देखिए व्यापारिक संगठनहरुले दावाब मुलक कार्य गर्ने गरेको उनको दाबी छ । यसरी दवाब र प्रभावमा दोषी छाड्दै गएको खण्डमा निमुखा र कोही नहुनेहरुले मात्रै कानुनी सजाय भोग्न पर्ने अवस्था आउने उनले बताए । यस्तो अवस्था नआओस् भनेर सरकार सचेत रहेको उनको भनाई छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्