Logo

कृषिमन्त्री जिसीले उद्घाटन गरेको ‘पोखरा फुटवेयर विजनेस सेन्टर’ मा पोखरा महानगरको ताला



काठमाडौं, ९ साउन । ‘पोखरा फुटवेयर विजनेस सेन्टर’ मा पोखरा महानगरले ताला लगाईदिएको छ । गत साउन ५ गते गण्डकी प्रदेशका कृषिमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेको उक्त विजनेस सेन्टरमा आज (मंगलबार) महानगरले ताला लगाएको हो ।

पोखरामा १० जना युवाहरु मिलेर सुरु गरेको उक्त जुत्ता व्यवसायमा एक करोडभन्दा बढीको लगानी रहेको छ । नेपाल जुत्ता घर नामक कम्पनी खोलेर १० जना व्यवसायीले छुट्टा छुट्टै पसल राखेर कारोबार गर्ने उद्देश्यले उनीहरुको योजना रहेको थियो ।

अनुमतिका लागि जाँदा महानगरले १० जनाले एउटै कम्पनीबाट जुत्ता बेच्न नमिल्ने भन्दै १० वटा छुट्टाछुट्टै फर्म दर्ता गराउनका लागि भन्यो । महानगरको निर्देशन अनुसार उनीहरुले फर्म दर्ताका लागि वडा कार्यालय र महानगरमा निवेदन दिएपनि एक जनाको नाममा मात्रै ‘नेपाली जुत्ता घर’ दर्ता भयो । अन्य नौ जनाको नाममा दर्ता प्रक्रिया महानगरले रोक लगायो । महानगरले दर्ता प्रक्रियामा विभिन्न बहाना गरेर आलटाल गरेको व्यवसायीहरुको गुनासो छ ।

व्यसायीहरुले बताएअनुसार महानगरले आर्थिक वर्षको अन्तिम समय भएकाले साउन १ गतेपछि आउन भनेको थियो । साउन १ गते दर्ताका लागि महानगर पुगेका उनीहरुलाई ७ गतेको म्याद दिएर बोलाइएको थियो । अन्ततः महानगरले ७ गते पनि कम्पनी दर्ताका लागि विभिन्न बहाना गरेको व्यवसायीहरुको गुनासो छ ।

पटक–पटक महानगरमा दर्ताका लागि जाँदा विभिन्न बहाना गरेर दुःख पाएका व्यवसायीहरुको व्यवसायमा आज भने महानगर प्रमुख धनराज आचार्यको मौखिक आदेशमा नगर प्रहरीले ताला लगायो ।

महानगरले भने ‘पोखरा फुटवेयर विजनेस सेन्टर’ दर्ता नभएको कारण बन्द गराएको बताएको छ । तर, व्यवसायीहरुले करिब १ महिना अघिदेखि दर्ताको प्रयास गरेपनि महानगरले नै आनकानी गरिरहेको व्यवसायी बताउँछन् ।

महानगरले पसल बन्द गराउन कुनै सूचना नदिएको, नगर प्रमुखको मौखिक आदेशको भरमा नगर प्रहरीले ताला लगाएको, व्यसाय दर्ता गर्न र कर तिर्न बारम्बार धाउँदा पनि आफूहरुलाई गलत मनसायले दुःख दिइएको व्यवसायीहरुको गुनासो छ ।

पोखरा फुटवेयर विजनेस सेन्टरले शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वर्ल्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका जुत्ता र चप्पल बिक्रीमा राखेको थियो । अन्य व्यवसायीको स्वार्थमा रहेर नगर प्रमुखले पोखरा फुटवेयर विजनेस सेन्टर बन्द गाराउने आदेश दिएको व्यवासायीहरुको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्