Logo

सुन तस्करी प्रकरण: संसदीय समिति बनाएर छानविन गर्न एमालेको माग



काठमाडौं, १० साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुन आउँदै गरेको कुरा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई पहिला नै थाहा भएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गदैृ उनले राजश्व विभागका डिजीलाई सुन पक्राउ पर्नु १० दिन पहिला जानकारी भएको सूचना प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई थिएन भनेर विश्वास गर्न नसकिने बताएका हुन् । कर्मचारीको संलग्नतामा मात्रै एक सय किलो सुन तस्करी सम्भव नरहेको उनले बताए ।

‘राजश्व अनुसन्धान विभागका डिजीले १० दिन अगाडि सुन आउँदै गरेको सूचना थियो भन्नु हुन्छ । राजश्व अनुसन्धानका डिजीलाई सूचना हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई सूचना थियो कि थिएन ? अवश्य थियो । कर्मचारीहरुको मात्रै सेटिङले क्वीन्टल, क्वीन्टल सुन तस्करी सम्भव छैन,’– उनले भने ।

तीन महिना अगाडि दर्ता भएको रेडी ट्रेडर्सबाट ३३ पटक त्यस्ता सामनहरु भित्रिएको भन्दै उनले त्यसको संरक्षणमा अहिलेकै प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीले गरेको आरोप लगाए । उक्त प्रकरण छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउन रुलिङका लागि सभामुखसँग उनले आग्रह गरे ।

‘संसद्बाट उच्चस्तरीय छानविन समिति बन्नका निम्ति सभामुखबाट रुलिङको माग गर्न हामी चाहन्छौं । यो तस्करीलाई हामीले स्वीकार गरेर बस्ने ? दिउँसै रात पार्ने काम भएको छ । विमानस्थलको त यो अवस्था छ । अरु भन्सारको अवस्था के होला ? सुनौलीको के होला ? नेपालगञ्जको के होला, रम्सौलको के होला ? अरु ठाउँको के अवस्था होला ?’– उनले प्रश्न गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्